कामदार लैजान नेपाल र इजरायलबीच श्रम सम्झौता

कामदार लैजाने विषयमा नेपाल र इजरायल सरकारबीच श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । मन्त्रिपरिष्को बैठकले इजराइल सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इजराइल सरकारसँग श्रम सम्झौतामा हस्ताक्षर गर्नका लागि नेपालका लागि इजरायलका राजदूत डा. अन्जन शाक्यलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको जानकारी दिए । दुई देशबीच जी टु जी माध्यमबाट हुन लागेको श्रम सम्झौता पछि नेपाली कामदारहरु केयर गिभरको रुपमा इजरायल काम गर्न जान पाउने उनले बताए ।
कामदारहरुले इजरायली नागरिकले पाउने सुविधा र संरक्षण पाउने समेत उनले दावी गरे । इजरायल नेपाली महिला कामदारका लागि वैदेशिक रोजगारको आकर्षक गन्तव्य मुलुक हो । सन् २००० देखि नै सुसारेका रूपमा नेपाली इजरायल जान थालेका थिए । तर सरकारले कामदार इजरायल पठाउँदा प्रतिव्यक्ति २ लाख ७० हजार रूपैयाँ मात्र उठाउन पाउने प्रावधान बनाए पनि म्यानपावर एजेन्सीले भने सातदेखि १० लाख रूपैयाँसम्म उठाउन थालेपछि इजरायलले नै नेपाली कामदार लैजान बन्द गरेको थियो ।
लामो समयदेखि बन्द रहेको इजरायलको रोजगारी तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको पालामा दुई देशबीच साझा मापदण्ड बनाइने र उक्त मापदण्ड अनुसार मात्रै लाने सहमति भएको थियो । त्यसपछि लामो समयको छलफल पछि मापदण्ड तयारी गरी जी टु जी माध्यमबाट नेपाली कामदारहरु केयर गिभरको रुपमा लाने सहमति भएको हो । यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल र चीनबीच व्यापार संयुक्त कार्यदलको प्रथम बैठक गर्नका लागि वार्ता टोली र कार्यसूची पनि स्वीकृत गरेको छ । यसमा नेपालले व्यापार प्रवद्र्धनका लागि धेरै अपेक्षा गरेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
अर्को हप्ता भर्चुअलरुपमा बैठक पनि हुनेछ । मन्त्रिपरिषद् बैठकले एक्जिआटा इन्भेष्टमेन्ट (युके) र एनसेल प्रालिले नेपाल सरकारविरुद्ध इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट फर द इन्भेष्टमेन्ट डिसपुट्समा दिइएको मध्यस्थतासम्बन्धी मुद्दाको प्रतिरक्षा गर्ने निर्णय पनि गरेको छ ।