Logo

जाडोको फेसन ‘ट्रेन्ड’

केही समययता मौसमअनुसार नयाँ डिजाइनका पहिरनको माग बढ्दो छ । जाडो मौसममा विभिन्न किसिमका न्याना ज्याकेट, पाइन्ट, थर्मकोटलगायत भुवादार कपडाको माग बढी हुने गरेको छ । जाडो मौसममा प्रयोगमा आउने विभिन्न किसिमका न्याना पहिरन बिक्री बढिरहेको व्यवसायीहरू बताउँछन् । जाडो याममा युवा, महिला, पुरुष तथा बच्चाबच्चीले गर्ने ड्रेसपको चाहनालाई मध्यनजर राख्दै चीन, भारत, थाइल्याण्ड, मलेसिया तथा कोरियाबाट पनि नेपालमा रेडिमेड कपडाहरू ल्याउने गरेको व्यवसायीको भनाइ छ ।
महाबौद्धमा रेडिमेड जेन्ट्स आइटमको होलसेल तथा खुद्रा व्यवसाय गरिरहेका व्यवसायी नवराज तिवारी राजधानीमा चिसोे बढेसँगै यसबाट बच्ने विभिन्न खालका नयाँ डिजाइनका कपडाको व्यापार बढेको बताउँछन् । “पोहोरको तुलनामा जाडोमा प्रयोग हुने नयाँ नयाँ डिजाइनका कपडा प्रशस्त भएकाले व्यापार बढेको छ,” तिवारी भन्छन्, “यसपालिको जाडोमा उपभोक्ताको मागअनुसार विभिन्न डिजाइनका सस्तोदेखि महँगो ज्याकेट, पाइन्ट, स्वीटरलगायत बजारमा सहजै उपलब्ध छन् ।”
उनले चीनबाट आफ्नो पसललगायत अधिकांश कपडा पसलमा ६० देखि ७० प्रतिशत कपडाहरू भित्रिने गरेको बताए । उपभोक्ताको मागलाई मध्यनजर गरी चीनका अलावा भारत, थाइल्याण्ड, मलेसिया तथा कोरियाबाट पनि नेपालमा रेडिमेड कपडाहरू ल्याउने गरेको उनको अनुभव छ ।
विगतका वर्षहरूमा जस्तै जाडोमा लगाउने पहिरनकोे सपिङ गर्न सपिङ मलदेखि फुटपाथमा समेत उपभोक्ताको भिड लाग्ने गरेको छ । चाइना टाउनको सपिङ कप्लेक्समा जाडोमा लगाउने ज्याकेट खरिद गर्दै गरेका ताहाचलका दिनेश केसीले आफू कोरियन ब्राण्डको ज्याकेट किन्न आएको बताए । “विशेष गरेर थाइल्याण्ड, कोरियालगायत देशबाट आयात हुने नयाँनयाँ डिजाइनका पहिरनको प्रयोग गर्छु,” केसी भन्छन्, “विदेशबाट आयात हुने तयारी पोशाक सस्तोदेखि महँगोसम्म सहज रुपमा पाइने भाएकाले यसका उपभोक्ताहरू बढेका हुन् ।”
नेपालमै तयार गरिएका भन्दा विदेशबाट आयात गरिएका तयारी पोशाकमा नयाँपन पाउन सकिने भएकाले विदेशी तयारी पोशाकको प्रयोग पछिल्लो समयमा बढ्दो रहेको उनले बताए । बजारमा केटाले जाडो समयमा प्रयोग गर्ने विभिन्न डिजाइनका पहिरन व्यापारीले चीन, थाइल्याण्ड, कोरिया तथा भारतबाट भत्र्याउने गरेका छन् ।
होलसेल, खुद्रा बजारलगायत बाटो छेउछाउका फुटपाथमा समेत जाडोमा प्रयोग हुने नयाँ डिजाइनका कपडाको व्यापार देख्न पाइन्छ । व्यापारी पनि नयाँ डिजाइनका कपडा ल्याएर व्यापार बढाउन लागिपरेका छन् । जाडोका कपडा किन्ने ग्राहकको चाप बढेसँगै विभिन्न डिजाइनका न्यानो लुगाको प्रदर्शनमा अहिले व्यापारीबीच होड नै चलेको देखिएको छ ।
मौसमअनुसार नयाँ–नयाँ डिजाइनका पहिरनहरू भित्रिने गरेको न्यूरोडमा जेन्ट्स पहिरनको पसल सञ्चालन गरेका रमेश श्रेष्ठले बताए । “यो वर्ष जाडोमा प्रयोग हुने नयाँ डिजाइनका कपडाको कारोबार दिनप्रतिदिन बढेको छ,” श्रेष्ठ भन्छन्, “पोहोर यो समयमा दैनिक ७÷८ हजारको किनबेच हुने गरेकोमा अहिले दैनिक १५-१६ हजार रुपैयाँको बिक्री हुने गरेको छ ।” पछिल्लो समयमा केटाले प्रयोग गर्ने फेशनेवल पहिरन बजारमा प्रशस्त पाइने गरेकोे उनले अनुभव सुनाए । न्यूरोडका अधिकांश व्यवसायीहरू पोहोरजस्तै यसपालि नयाँ–नयाँ डिजाइनका पहिरनहरू भित्रिएकाले दिनप्रतिदिन व्यापार बढेको बताउँछन् ।
न्यूरोडको एक कपडा पसलमा जाडोमा लगाउनको लागि हुक खरिद गर्दै गरेका स्वयम्भू बस्ने २२ वर्षिया विनोद लामिछानेले जाडोबाट बच्नको लागि विभिन्न किसिमका पहिरन खरिद गर्न आएको बताए । “कपडाका डिजाइन छोटो समयमा नै परिवर्तन हुने भएकाले सस्तो तथा जाडो छेक्ने नयाँ–नयाँ डिजाइनका पहिरन खरिद गर्न मन पराउँछु,” उनी भन्छन्, “सस्तो पहिरन खरिद गर्दा छोटो समयमा नै डिजाइन परिवर्तन भए पनि खासै फरक पर्दैन ।” उनले विभिन्न डिजाइनका पहिरनको प्रयोग गर्ने पारखीलाई चीनले बजारमा सस्ता मूल्य पर्ने पहिरन उपलब्ध गराएको बताए । पछिल्लो समयमा केटामा पनि फरक–फरक किसिमका पहिरनको प्रयोग बढेको दाबी उनको छ ।
काठमाडांैमा केही दिनयता जाडो निकै बढेको छ । त्यसबाट बच्न विभिन्न खालका पहिरनको बिक्री बढेको व्यवसायीले बताएका छन् । बढ्दो जाडोबाट बच्न ठूला मलदेखि फुटपाथमा समेत अहिले न्यानो लुगा किन्नेको भीडभाड बढेको छ । विशेषगरी सस्तो भएका कारण खुद्रा तथा फुटपाथमा राखिएका कपडा पसल विपन्न वर्गका लागि किनमेल गर्ने प्रमुख थलो बनेको खुद्रा व्यापारी बताउँछन् ।

किरण आचार्य

प्रतिक्रिया दिनुहोस्