रानीपोखरीमा पानी भरियो

पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सम्पदा पुनर्निर्माणको विवादमा लामो समय अल्झेको रानीपोखरीमा पानी भरिएको छ भने यससँगै सौंदर्य फर्कने भएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरिएको हो । २०७२ को भूकम्पले क्षति पु-याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो । यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।
रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए । पानीपोखरीबाट रानीपोखरीसम्म पानी पु¥याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाइन उपयोग गरिएको थियो ।
मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए । थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए । “भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ,” थापाले भने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।