लापरबाहीले ५ वर्षदेखि पक्की पुल अलपत्र

डडेल्धुराको गन्यापधुरा गाउँपालिका र नवदुर्गा गाउँपालिका जोड्ने पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको छ ।
गन्यापधुरा–३ सकायलदेखि नवदुर्गा गाउँपालिका–३ डाडा वन जोड्नका लागि सकायल खोलामा निर्माण हुन लागेको मोटरेबल पुल २०७२ सालदेखि अलपत्र परेको हो । २ करोड ५० लाखको लागत रहेको पुल निर्माणकार्य २ वर्षभित्र सम्पन्न गरिसक्ने गरी डडेल्धुरा जिल्लाकै निर्माण कम्पनीहरू राजेन्द्र निर्माण कम्पनी र चाँदनी निर्माण कम्पनीको जेभीसंँग २०७२ सालमा सम्झौता भएको थियो । तर सम्झौता भएको ५ वर्ष पुग्दासम्म पनि तीन प्रतिशतमात्रै काम भएको छ ।
पुल निर्माण सम्पन्न गर्ने अवधि सकिएको ३ वर्ष भएको छ, तर खोलाका दुवैपट्टि अपुरा पिल्लर राखेर पुल अलपत्र पारेका छन् । वर्षात्को समयमा खोलामा पानीको बहाब अत्यधिक हुने हुँदा स्थानीय बासिन्दालाई ओहोरदोहोर गर्न समस्या भएको स्थानीय सुरेन्द्र देउवाले बताए । उनले भने, “निर्माण कम्पनीसँंग पुल निर्माणका लागि पटकपटक आग्रह गर्दासमेत बेवास्ताले जोखिमपूर्ण रूपमा खोला वारपार गर्नुपरेको छ ।”
समयमै पुल निर्माण नहँुदा स्थानीय बासिन्दालाई समस्या भएको र पुल निर्माण कार्य अगाडि बढाउन निर्माण कम्पनी र सडक डिभिजन कार्यालय कुलपाते डोटीलाई पटकपटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको नवदुर्गा गाउँपालिकाका अध्यक्ष कवीन्द्र विष्टले बताए ।
पुल निर्माणको काम अब सुरु गर्ने र बीचमा स्टिमेट रिभाइज भएकाले काममा ढिलाइ भएको निर्माण व्यवसायी लोकेन्द्र गुरुङले बताए । तर निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि काम हुन सकेन र कोरोनाका कारण ६ महिना निर्माण कार्यको म्याद थप भएको छ यो अवधि सकिने बित्तिकै निर्माण कम्पनीलाई कारबाही गर्नेसमेत सडक डिभिजन कार्यालय कुलपाते जनाएको छ ।
हरिश चन्द