Logo

कोरोना महामारीले थलिए व्यवसायी

गुल्मी-सिङ्गो अर्थतन्त्रलाई हलचल गराउने गरी विश्वभर कोरोना भाइरस फैलिरहेको छ । यसको प्रत्यक्ष असर व्यवसायीहरुमाथि पनि छ । सबै ठाउँमा साना ठूला व्यवसायीहरु यसको मार खेपिरहेका छन् ।
कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडान र निषेधाज्ञाका कारण गुल्मीका व्यवसायीहरु आर्थिक हिसाबले उठ्नै नसक्ने गरी थला परेको गुनासो गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ तम्घास सहिदचोकमा व्यवसाय गर्दै आएका देवराज पाण्डेले व्यवसाय चौपट भएको बताए । उनले भने, “लकडाउनका कारण व्यवसाय ३ महिना पूर्णरुपले बन्द र अहिले केही मात्रामा खुकुलो भएपनि व्यवसाय उठ्नै नसक्ने गरी थला परेको छ ।” पाण्डेको सदरमुकाम तम्घासमा ३ वटा फेन्सी पसल छन् । मासिक २८ हजार रुपैयाँ भाडा तिर्नुपर्छ, तर अहिले व्यापार शुन्य छ । “घरभाडा तिर्ने स्थिति छैन, प्रत्यक्ष रुपमा व्यवसायी मारमा छन्” पाण्डेले भने, “पछिल्लो समय लकडाउन खुकुलो पारिएको अवस्थामा पनि घरभाडा तिर्न सकिएको छैन ।”
सदरमुकाम तम्घासकै अर्का व्यवसायी उमाकान्त मरासिनी पनि आफ्नो व्यापर अस्तव्यस्त बनेको गुनासो गर्छन् । “पछिल्लो समय लकडाउन खुकुलो भएपनि हामी सबैलाई कोरोना भाइरसको डर रहेकै छ ।” व्यवसायी मरासिनीले भने, “मनोवैज्ञानिक असरले पनि व्यापार नभएको हो ।” मानिसमा अहिले व्यापर भन्दा पनि भाइरस संक्रमणको डर रहेको छ । आफूलाई संक्रमण हुन्छ भन्ने मनोवैज्ञानिक असरले व्यापर हुन नसकेको उनको तर्क छ । उनले व्यापार उठ्न सक्ने अवस्थामा नरहेको उनले गुनासो गरे ।
तम्घासकै सुमन पाण्डेले पनि कोरोना भाइरसले व्यापार व्यवसाय संकटमा पारेको र यसले केही वर्ष आफूलाई पछाडी धकेलिरहेको बताए । एक दुई जनाको मात्रै नभई सबै व्यवसायीहरु यतिखेर आर्थिक हिसाबले थला परिरहेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघ जिल्ला शाखाले कोरोना महामारीका कारण व्यवसायी प्रत्यक्ष मारमा परेको भन्दै सबै व्यवसायीलाई धैर्य रहन आग्रह गरेको छ । “यस महामारीमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै व्यापारीहरु पनि जोखिम मोलेर बाध्यताले व्यापर गनुपर्ने अवस्था छ ।” उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले भने, “हामीले व्यापरीको पीडालाई मध्यनजर गर्दै प्रशासनसँग समन्वय गरी समय व्यवस्थापन गरेर पसल खुलाइरहेका छौं ।”
पीडित व्यापरीहरुको समस्या बुझेर अगाडी बढ्ने उद्योग वाणिज्य संघ गुल्मीले जनाएको छ । तर सबै व्यापारीहरुले कोरोना भाइरसबाट बच्न उच्च सतर्कताको उपाय अपनाएर खरिद बिक्री गर्न उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष श्रीप्रसाद भलामीले आग्रह गरेका छन् ।
आर्थिक हिसाबले व्यापरी उठ्नै नसक्ने गरी थला परेको यो अवस्थामा सबै व्यवसायीहरु धैर्य रही उच्च सतर्कता अपनाएर व्यापर गर्न वाणिज्य संघको आग्रह छ । व्यापारीहरु पहिलेकै अवस्थामा लामो समय लाग्ने अधिकांश व्यापारीको गुनासो छ ।

सन्तोष महतारा

प्रतिक्रिया दिनुहोस्