Logo

सेयर बजारमा २ अंकको सुधार

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार मंगलबार पनि बढेको छ । सोमबार ४४ अंकले बढेको धितोपत्र बजार सूचक मंगलबार पनि सामान्य अंकले बढेको हो । बैंकहरूले तत्काल ऋणको ब्याजदर नघटाउने भद्र सहमति सेयर लगानीकर्तासँग गरेपछि सेयर बजार सुधारको गतिमा देखिएको हो । साथै सेयर लगानीकर्ताहरू नियामक तथा अर्थ मन्त्रालयमा अनुरोध गर्न सुरु गरेपछि बजार बढेको हो । पछिल्लो समयमा उच्च अंकले घटेको नेप्से परिसूचक घट्नु धितोपत्रको अधिक आपूर्ति नै मुख्य छ ।
मंगलबार कारोबार सुरु हुँदा नेप्से परिसूचक केही समय घटेको थियो । तर, केही समयपछि सुधारको गतिमा रहेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा १४३४.८० अंकमा रहेको नेप्से २.४४ अंकले बढेर बन्द हुँदा १४३७.२४ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ ।
मंगलबार नेपाल टेलिकम तथा बैंकहरूको सेयर मूल्य बढेको छ । मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ १०.१३, व्यापार ०.०८ र अन्य समूह ४.३४ अंकले बढेका छन् । तर, विकास बैंक ४.०६, वित्त २.५८, बिमा ६१.३४, लघुवित्त ८.२६, होटल ५१.५८, उत्पादनमूलक ५.८६ र जलविद्युत् समूह २८.६१ अंकले घटेका छन् ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । नेप्सेमा १६६ कम्पनीको ६ हजार ८ सय २ कारोबारबाट ६३ करोड ३२ लाख रुपैयाँ बराबरको १२ लाख ६२ हजार ४ सय १७ कित्ता सेयर किनबेच भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्