सेयर बजारमा ४४ अंकको सुधार «
Logo

सेयर बजारमा ४४ अंकको सुधार

निरन्तर घट्दो क्रममा रहेको सेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार कारोबार सुरु भएदेखि बन्द हुँदासम्म निरन्तर बढेको धितोपत्र बजार सूचक ४४ अंकले बढेको हो । पछिल्लो समयमा निरन्तर घटेर १४ सयभन्दा तल आएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पुनः १४ सयभन्दा माथि चढेको हो । सोमबार नेप्से परिसूचक उच्च अंकले बढेको भए पनि कारोबार रकम भने आधाले घटेको छ ।बैंकहरूले तत्काल ऋणको ब्याजदर नघटाउने भद्र सहमति सेयर लगानीकर्तासँग गरेपछि सेयर बजार सुधारको गतिमा देखिएको हो । पछिल्लो समयमा उच्च अंकले घटेको नेप्से परिसूचक घट्नु धितोपत्रको अधिक आपूर्ति नै मुख्य छ ।
पछिल्लो समयमा बैंक वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजार घट्न थालेको थियो । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजीको सीमितताका कारण ब्याजदर बढेर निक्षेप लिने क्रम बढेको छ जसले गर्दा सेयर बजार प्रभावित भएको थियो ।
सोमबार कारोबार सुरु भएदेखि निरन्तर बढेको धितोपत्र परिसूचक कारोबार बन्द हुँदासम्ममा निरन्तर बढिरह्यो । कारोबार सुरु हुँदा १३९०.५८ अंकमा रहेको नेप्से ४४.२२ अंकले बढेर बन्द हुँदा १४३४.८० अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ९.२ अंकले बढेको छ ।
सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक बढेका छन् । नेप्सेमा कारोबार भएका बैंकिङ ४२.५२, विकास बैंक ४५, वित्त १३.२६, बिमा २७०.८, लघुवित्त ६९.४७, होटल १११.५७, व्यापार २.८७, उत्पादनमूलक २५.३२ र जलविद्युत समूह ५९.८ अंकले बढेका छन् । तर, अन्य समूह मात्र ०.८७ अंकले घटेको छ ।
सोमबार नेप्से परिसूचक बढेको भए पनि कारोबार रकम भने उच्च घटेको छ । नेप्सेमा १६३ कम्पनीको ५ हजार २ सय २९ कारोबारबाट ४९ करोड ८४ लाख रुपैयाँ बराबरको ११ लाख ४१ हजार ४ सय ६३ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा आधा थोरै हो ।

 

प्रतिक्रिया दिनुहोस्