Logo

त्रिपुरेश्वरमा पाकिस्तानी सामानको मेला

पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा शुरु भएको छ । विगत १० वर्षदेखि आयोजना हुँदै आएको उक्त मेलालाई यो साल ‘मेड इन पाकिस्तान, सार्क एडिसन’ नाम दिइएको छ । भूकम्पका कारण २०७२ मा भने मेड इन पाकिस्तान मेला आयोजना भएन ।
पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य संघले राजधानीस्थित पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा आयोजना गरेको उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री संगठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा उद्घाटन गरे ।
सो अवसरमा राजदूत जावेदले भौगोलिक रुपमा पाकिस्तान र नेपाल टाढा रहेपनि दुई देशका उद्यमी–व्यापारी र नागरिकबीचको सम्पर्कले पारस्परिक सम्बन्धलाई सुदृढ तुल्याएको बताए । अध्यक्ष राणाले ६० वर्ष पुरानो नेपाल र पाकिस्तानबीचको सम्बन्ध पछिल्लो समयमा प्रगाढ बनेको चर्चा गर्दै यसलाई यस्ता व्यापार मेलाले अझ मजबुत बनाउने बताए ।
मेलामा फर्निचर, छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने वाणिज्य संघका क्षेत्रीय अध्यक्ष खर्सिद बर्लासले बताए । मेला यही असोज २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्