७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो, आयोजक उत्साहित «

७५ हजार बढीले अवलोकन गरे फर्निचर एक्स्पो, आयोजक उत्साहित

नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स–२०१८) को ७५ हजार बढीले अवलोकन गरेका छन् । सोमबार एक्स्पो सकिएको छ । एक्स्पो अवधिमा भएको व्यावर तथा अवलोकनकर्ताको बाक्लो उपस्थितिले आयोजक संस्था फर्निचर तथा फर्निसिङ संघ उत्साहित बनेको छ ।
दसैंलाई लक्षितगर्दै सबै प्रदर्शकले भारी छुटमा सामान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भीड लागेको एक्स्पोमा अधिकांश अवलोकनकर्ताले सामान बुकिङ गरेका छन् । संघका अध्यक्ष राजेशकाजी अग्रवालले भने, “व्यापरका हिसावमा ठूलो रकमको सामान बुकिङ भएको छ । यसले हामीलाई आगामी वर्षहरूमा अझ बिस्तारित शैलीमा एक्स्पो आयोजन ागर्न उत्साहित बनाएको छ ।”
जेम फ्लोरिङको प्रस्तुतिमा आयोजित एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । इभेन्ट सोलुसनका प्रबन्धनिर्देशक विजय सागर प्रधानले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको बताए । फर्निचर एक्स्पोले आफूहरूलाई पनि उत्साहित बनाएको उनको भनाइ छ ।
एक्स्पोलाई सिमल डेकोर, यती फ्लोरिङ, ग्लेन र डिलाइटले प्रायोजन गरेका थिए । एभरेस्ट इन्स्योरेन्सले एक्स्पो स्थलको बिमामा सहकार्य गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले एक्स्पोलाई प्रवद्र्धन गरेका थिए ।
प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्रान्डका सयभन्दा बढी कम्पनीहरू एक्स्पोमा सहभागी थिए । ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्रान्डका फर्निचरहरूको बृहत् प्रदर्शनीमा चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दसैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री वितरणका साथै बुकिङ भएका छन् ।
एक्स्पोका संयोजक सुभेन्द्र जोशीले विगत वर्षको तुलनामा व्यपार तथा अवलोकन कर्ताको बाक्लो उपस्थितिले सेवाग्राही फर्निचरजन्य उत्पादनलाई अनिवार्य साधनको रूपमा लिन थालेको बताए । यसले आगामी दिनमा फर्निचरजन्य उत्पादनको व्यापार विस्तार हुने उनको बुझाइ छ । होम डेकोर विशेष बनाइएको एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री अवलोकनकर्ताको आकर्षण बनेका थिए ।
नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रूपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्