रुपन्देहीमा औद्योगिक विकासको सम्भावना «

रुपन्देहीमा औद्योगिक विकासको सम्भावना

 रुपन्देहीमा उद्योग विकासको प्रचुर सम्भावना छ । मोफसलमा सबैभन्दा धेरै उद्योग रहेको रुपन्देहीमा भोलिका दिनमा पनि उद्योग विकासको सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् । उनीहरूले उद्योग र पर्यटन क्षेत्रमा रुपन्देही प्रदेश नम्बर ५ को सम्भावनायुक्त रहेको औंल्याए । उनीहरूले बुद्ध जन्मस्थल लुम्बिनीसहित पर्यटन विकासका बहुआयामिक क्षेत्रहरू रहेकाले प्रदेशको आर्थिक विकास र समृद्धिमा योगदान हुने बताए ।
बुटवलमा जारी १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा आयोजित ‘रुपन्देहीमा उद्योग र पर्यटनको सम्भावना र चुनौती’ विषयक गोष्ठीमा सम्बन्धित क्षेत्रका विज्ञ र अगुवाहरूले उद्योग र पर्यटन क्षेत्रका सम्भावनाहरूलाई अब कार्यान्वयन गर्न ढिला गर्न नहुनेमा जोड दिए । मुलुक संघीयतामा गइसकेकाले अब प्रदेश सरकारको आर्थिक व्यवस्थापनको मुख्य स्रोत उद्योग र पर्यटन क्षेत्र नै भएकाले यी दुवै क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी भित्र्याउने वातावरण बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।
गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले रुपन्देहीको मोतीपुरमा प्रदेशस्तरीय औद्योगिक क्षेत्रको डीपीआर अन्तिम चरणमा पुगेको, भैरहवामा विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनमा आउने प्रक्रियामा रहेको, बुटवल औद्योगिक क्षेत्र पनि विस्तारको प्रक्रियामा गएको, नाकाबन्दीका बेलामा पनि बन्द नभएको बेलहिया भन्सार नाका रुपन्देहीमै रहेको, यातायातको ट्रान्जिट प्वाइन्ट र भौगोलिक सुगमता जस्ता कारणले यहाँ उद्योगको विकासको प्रचुर सम्भावना रहेको बताए ।
औद्योगिक व्यवसाय ऐन २०७३ पारित भइसकेको, औद्योगिक सुरक्षा बल गठन भएको, निर्यातमा नगद अनुदान नीति, नेपाल व्यापार एकीकृत रणनीति, वैदेशिक लगानी नीति, गुणस्तर ऐन, लघुउद्यमसम्बन्धी व्यवस्था, औद्योगिक पूर्वाधार विकास कार्यक्रम, बौद्धिक सम्पत्ति नीति जस्ता नीतिगत व्यवस्थाले पनि यहाँ उद्योगमा लगानीकर्ताहरू आकर्षित भएको बताए । यस्तै विश्वभरकै बौद्धमार्गीहरूको आस्थाको धरोहर लुम्बिनीलाई बुद्धको जीवनीसँग सम्बन्धित तिलौराकोट, देवदह र रामग्रामलाई जोडेर बृहत्तर लुम्बिनी सर्किट बनाइ विदेशी पर्यटकहरू भिœयाउन सकिने उनले उल्लेख गरे । पर्यटनविद् डा. गितु गिरीले रुपन्देहीलाई पाल्पाको तानसेन र भैरवस्थान, गुल्मीको रिडी र र रेसुंगा, प्युठानको स्वर्गद्वारीलगायतका धार्मिक स्थलहरूसंग जोडेर धार्मिक पर्यटनको विकास गर्न सकिने औंल्याए । रुपन्देहीको गजेडी तालमा जल पर्यटन, बुटवलको देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरलाई स्पोर्टस भिलेजको रूपमा विकास गरी खेल पर्यटनको विकास गर्न सकिने डा. गिरीले औंल्याए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले रुपन्देहीको विकासको प्रमुख आधार पर्यटन नै भएको बताउँदै बुद्ध जन्मस्थल लुम्बिनीको गुरुयोजना छिटो पूरा गरी पर्यटकीय पूर्वाधारहरू निर्माणमा लगानी केन्द्रित गर्नुपर्ने बताए । आदि मानव रामापिथेकसको १ करोड वर्ष पुरानो बंगारा फेला परेको ठाउँ, ब्रिटिस सेनालाई नेपाली सेनाले बहादुरीपूर्वक लडेर हराएको ऐतिहासिक जितगढी किल्ला जस्ता सम्पदा रुपन्देहीमै रहेकाले अब तिनको उचित विकास गर्न सके स्वदेशी तथा विदेशी पर्यटकहरू आकर्षित गर्न सकिने बताए । पर्यटन विकासकै लागि बुटवल उपमहानगरपालिकाले बुटवलको हिलपार्कमा हालसम्मकै ठूलो बुद्ध मूर्ति ‘बिग बुद्ध’ र जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक र सबैभन्दा ठूलो नेपालको राष्ट्रिय झन्डा राख्न लागेको बताए ।
सो अवसरमा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले नाकाबन्दी, मधेस आन्दोलन र अन्य विषम परिस्थितिमा पनि रुपन्देही जिल्ला सुरक्षित मानिएकाले यहाँ पूर्वतिरका लगानीकर्ताहरूले ठूला–ठूला उद्योगमा लगानी गर्न आकर्षित भएको बताए । मुलुककै ठूला उद्योगपतिहरू नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको अर्घाखाँची सिमेन्टलगायत जगदम्बा समूह, पञ्चकन्या समूहलगायतका करोडौं–अर्बौं लगानीका ठूला उद्योगहरू यहाँ रहेकाले औद्योगिक वातावरण रहेको बताए ।
बुटवल उद्योग वाणिज्य संघका उद्योग सदस्य अनुपमान सैंजू, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बेनुराम प्रधान, घरेलु तथा साना उद्योग महासंघ ५ नंं प्रदेश संयोजक नेत्र पाठक, युवा उद्यमी निश्चल शर्मा, उद्योगीहरू माधव पौडेल माया खनाललगायतले सरकारी नीति–नियम उद्योग र पर्यटनमैत्री हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्