जनवरी पहिलो सातादेखि ट्यांकरमा लकिङ

नेपाल आयल निगमले प्रक्रिया सुरु गरेको तीन वर्षपछि इन्धन बोक्ने ट्यांकरमा लकिङ प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले ताल्चा पठाएपछि आगामी जनवरी पहिलो सातादेखि ट्यांकरमा लकिङ प्रणाली लागू गर्न लागिएको हो ।झापाको सिलगुडी नाकामा गुड्ने ट्यांकरमा लकिङ प्रणाली लागू गरिने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । “पहिलो चरणमा सिलगुडी नाकामा चल्ने ट्यांकरमा लकिङ प्रणाली लागू गरिनेछ,” उनले भने, “त्यसपछि क्रमिक रूपमा अन्य नाकामा चल्ने सवै ट्यांकरमा यो प्रणाली लागू गरिनेछ ।”
प्रवक्ता गोइतले आईओसीले लकिङका लागि ताल्चा पठाइसकेको जानकारी दिए । “ढुवानी व्यवसायीले ट्यांकरमा सिंगल लकिङ प्रणाली जतिसक्दो छिटो जडान गरेपछि सबै ट्यांकरमा ताल्चा जडान गरिनेछ,” उनले भने । सिलगुडी नाकामा ५२ वटा ट्यांकर गुड्ने गरेकोमा व्यवसायीले २१ वटामा मात्र सिंगल लकिङ प्रणाली जडान गरेका छन् । ट्यांकरमा लकिङ प्रणाली लागू गरेपछि बाटोमा हुने चोरी नियन्त्रण हुने छ । “इन्धन बोकेका गाडीबाट बीच बाटोमा कसैले पनि जथाभावी रूपमा तेल झिक्न पाउँदैन,” प्रवक्ता गोइतले भने, “बाटोमा तेल झिक्न ताल्चा काट्नुपर्ने भएकाले त्यसो गरिएमा सबै कुरा थाहा हुन्छ, यसले चोरी पूर्णरूपमा रोकिन्छ ।”
नेपाल आयल निगमलाई आईओसीले उच्च प्रविधिसहितको ताल्चा निःशुल्क रूपमा उपलव्ध गराएको छ । ताल्चा पाएसँगै निगमले व्यवसायीलाई जतिसक्दो छिटो ट्यांकरमा लकिङ प्रणाली जडान गर्न अनुरोध गरेको छ ।
निगमका अनुसार ट्यांकरमा इन्धन भर्ने र झिक्ने गरी राखिएको खुल्ला ठाउँलाई एसएस रड लगाएर बन्द गरिने छ । ट्यांकरको एक ठाउँमा मात्र खुला ठाउँ हुन्छ जहाँ ताल्चा लगाइने छ । जुन ताल्चा डिपोमा आएर सम्बन्धित व्यक्तिले मात्र खोज्ने व्यवस्था गरिएको छ । प्रवक्ता गोइतले भने, “गोदरेज कम्पनीले बनाएको लक उच्च प्रविधिको भएकाले पनि कसैले खोल्न नसक्ने हुँदा ट्यांकरबाट हुने चोरी रोकिन्छ ।”
आईओसी डिपोदेखि आयल निगमको डिपोसम्म ट्यांकरमा लकिङ गरेर इन्धन ल्याइन्छ । ताल्चाको साँचो आइओसी र निगमका डिपो प्रमुखसम्म मात्र रहने छ । साँचो डिपोभन्दा बाहिर लान नपाइने नियम छ । डिपो प्रमुखकै निर्देशनमा ट्यांकरमा लकिङ गरिन्छ । एउटै साचोले सवै ताल्चा खुल्ने हुँदा साँचो हराएपछि सवै ताल्चा काट्नुपर्ने हुन्छ । साँचो हराएपछि डिपो प्रमुखले उचित कारण नदेखाएपछि कारबाहीको व्यवस्था गरिएको निगमको भनाई छ । एउटा मास्टर किले सवै ट्यांकरका ताल्चा खुल्ने गर्छ ।
दोस्रो चरणमा डिपोबाट डिलरमा तेल पठाउनका लागि पनि लकिङको व्यवस्था गर्न लागिएको निगमले जनाएको छ । ताल्चा एउटै भए पनि डिपोमा पुगेपछि डिलरमा पठाउनका लागि छुट्टाछुट्टै साँचो हुनेछ । एउटा ताल्चाको मूल्य २५ हजार रुपैयाँ पर्ने गर्छ । निगमसँग हाल सञ्चालनमा रहेका १ हजार ८ सय वटा टयाङकले इन्धन बोक्दै आएका छन् ।