निजी खर्चमा स्वास्थ्यचौकी निर्माण «

निजी खर्चमा स्वास्थ्यचौकी निर्माण

तेह्रथुम-पर्याप्त भवन नहुँदा सेवा दिन समस्या हुँदै आएको स्वास्थ्यचौकीमा तेह्रथुमका दुई दाजुभाइले आफ्नै लगानीमा भवन निर्माण गरेका छन् ।
म्याङलुङ नगरपालिका–७ आम्बुङका एकै घरपरिवारका ५ दाजुभाइले निजी लगानीमा स्वास्थ्यचौकीको भवन निर्माण गरेका हुन् । आफ्ना स्वर्गीय बुबा र आमाको स्मृतिमा जग्गासमेत खरिद गरी करिब ४० लाखको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरेका हुन् । बुबा टंकबहादुर र आमा मनमाया सम्बाहाम्फेको नाममा स्वास्थ्यचौकी भवन निर्माण गरेपछि स्वास्थ्यचौकीको नामसमेत ‘टंकमन’ राखिएको माइला छोरा इन्द्रबहादुर सम्बाहाङफेले बताए । “स्थानीय नागरिकको उपचारमा पहुँच पुगोस् भन्ने उद्देश्यले दाजुभाइ मिलेर स्वर्गीय बुबाआमाको स्मृतिमा स्वास्थ्यचौकी बनाएका हांै,” उनले भने ।

गाउँका कोही बिरामी भए उपचार अभावमा सदरमुकामसम्म पुग्नुपर्ने सास्ती हटाउन आफ्नै गाउँमा स्वास्थ्यचौकी निर्माण गरेको साइँला छोरा गणेशबहादुरले बताए । उनले भने, “आफू जन्मेको गाउँघरलाई माया लाग्छ, गाउँवासीलाई उपचारमा सहजताका लागि दाजुभाइ मिलेर यो भवन बनायौं ।” समाजलाई समृद्ध बनाउनका लागि सबै नागरिकले आफ्नो जन्मठाउँलाई केही न केही गर्नुपर्ने उनको सुझाव छ ।
पुर्खाले दुःख गरेर आफ्ना सन्ततिलाई यहाँसम्म पुराएको स्मरण गर्दै कान्छा छोरा प्रेमबहादुरले उहाँहरूको सम्झानामा आफूहरूले पनि समाजसेवा गरेको बताए । उनले भने, “समाजका लागि केही गर्छु भन्ने भावना हुनेले सरकारको मुख ताकिरहनु आवश्यक छैन ।”
यसअघि पटकपटक स्वास्थ्यचौकी सञ्चालनका लागि सरकारसँग बजेट माग गरे पनि बजेट विनियोजन नहुदा यहाँका स्थानीय उपचारका लागि जिल्ला सदरमुकामलगायत अन्यत्र जान बाध्य थिए । ५ दाजुभाइले स्वास्थ्यकर्मी आवाससहितको भवन निर्माण गरेसँगै अहिले स्वास्थ्यचौकीमा २४सै घण्टा सुरक्षित प्रसूति सेवासमेत सुरु भएको म्याङलुङ नगरपालिका–७ का वडाध्यक्ष नारायण आचार्यले बताए । उनका अनुसार यसअघि विभिन्न दाताले सुरक्षित प्रसूतिका लागि आवश्यक सामग्री प्रदान गरे पनि भवन अभावमा उक्त सामग्री थन्काएर राखिएको थियो । ठाउँ अभाव भई उपचारमा समस्या भइरहेको बेला एक परिवारले भवन बनाइ दिएपछि स्वास्थचौकी सञ्चालन गर्न सहज भएको स्वास्थ्यचौकीकी इन्चार्ज ममता देवले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्