Logo

संकटमा हायु जाति

बेतिनी (उदयपुर) – उदयपुर जिल्लाको कटारी नगरपालिका–११ स्थित सिरवानीमा करिब आधा दर्जन घर भएको एउटा सानो गाउँ छ । टिन र खरको छानो हालेका घर र घर नजिकै गाईभंैसीका गोठ छन् । घर वरिपरि बारी छ, जहाँ कोदो रोपिएको छ । अघिल्लो पुस्ता हेर्दा जनजातिझैं लाग्ने र पछिल्लो पुस्ताका केटाकेही हेर्दा क्षेत्री समुदायका झैं लाग्ने यो गाउँमा हायु जाती बसोबास गर्छन् ।
अत्यन्तै न्यून संख्यामा रहेकाले केही वर्षयता हायु जातिमा आफ्नो जातिको फरक गोत्रमा भन्दा अन्य जातिमा प्रेम विवाह गर्ने चलन बढेको छ । लोपोन्मुख जातिमा पर्ने यो जातिको आफ्नै भाषा, धर्म, संस्कार र संस्कृति छन् तर ती सबै लोप हुने अवस्थामा पुगेका छन् ।
उदयपुर जिल्लामै जम्मा ४० जनाको जनसंख्यामा यहाँ रहेको यो जातिलाई आफ्नो मातृ भाषाको संरक्षण गर्न र जन्म, विवाह र मृत्यु संस्कार चलाउन समेत संकट पर्दै गएको छ । ५ घर परिवारमा सीमित रहेको हायु जातिमा आफ्नै जातिको पर्याप्त जनसंख्या छैन । भएकाहरूमा पनि अन्य जातिय प्रभाव परेका कारण भाषाको संरक्षण गर्न र जन्म, विवाह र मृत्यु संस्कार चलाउन संकट पर्न थालेको हो ।
“उदयपुर जिल्लामै जम्मा ४० को संख्यामा सीमित भएका कारण हामीले आफ्नै समुदायको फरक गोत्रमा मागी विवाह संस्कार चलाउन सकेका छैनौं,” अगुवा जीतबहादुर हायुले भने, “छोरा या छोरीको विवाह आफ्नै समुदायको फरक गोत्रमा गराउने हो भने छिमेकी सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगालगायतका जिल्लाबाट वर या वधु आउनु वा जानुपर्ने अवस्था छ ।” तर, ती जिल्लामा पनि हायु समुदायको बसोबास अत्यन्तै सीमित संख्यामा रहेकाले यो समुदायमा अन्य जातिसँगको विवाह बढ्दै गएको उनले बताए ।

चेतना आए पनि आफ्नो जातिको भाषा, संस्कार र सस्कृतिको विषयमा जानकारी नहुँदा आफू बसोबास गरेको समाजमा चलिरहेको भाषा, संस्कार र संस्कृति नै प्रचलनमा रहेको अनन्त हायुले बताए । “न्वारान, विवाह र मृत्यु संस्कार ब्राम्हण क्षेत्रीको जस्तै नै हुन्छ,” अन्नतले भने, “आफ्नो भाषा, संस्कृति र संस्कार भए पनि न्यून संख्याका कारण संस्कार अनुसार काम गर्न सक्ने अवस्था नै छैन ।” त्यसैले स्थानीय समाजमा बाहुल्य रहेको समुदायकै संस्कार र संस्कृति अनुसार गर्ने गरेको उनले बताए । ५ पुस्तादेखि सिर्वानीमा बस्दै आए पनि भेषभूषा, भाषा, संस्कार र संस्कृतिको प्रयोग हुन नसक्दा यहा“का हायु जातिको अस्तित्व संकटमा पर्दै गएको अनन्तको भनाइ छ ।
हायु जातिमा चेतनाको अझ विस्तार गर्दै उनीहरूको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने कार्यक्रम तयार गर्न लागेको कटारी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दीपक बुढाथोकी बताउँछन् । “हायु जातिको चेतना विस्तारसँगै भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण र आर्थिक सामाजिक विकासमा नगपालिकाले कार्यक्रम तयार गरेको छ,” वडाध्यक्ष बुढाथोकी भन्छन्, “लोपोन्मुख जाति भएकोले हायु जातिको उत्थानमा स्थानीय स्तरमै विभिन्न कार्यक्रम सुरु गरिएको छ ।” कृषि क्षेत्रमा अनुदान र शिक्षामा विशेष सुुविधा दिँदै भाषा, धर्म र संस्कृतिलाई बचाउने तयारी गरिएको उनको भनाइ छ ।
“विविध जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षणमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ,” कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले भने, “भाषा, संस्कार र संस्कति जस्ता साझा सम्पत्तिको संरक्षण गर्न सकेमात्रै स्थानीय तहको विकासले सार्थक रुप लिने भएकाले हामीले हायु जातिको भाषा, संस्कार र संस्कृति संरक्षणको योजना बनाएका हौं ।” हायु जातिको संरक्षणसँगै चेतनाको स्तर समेत वृद्धि हुने खालका कार्यक्रम वडातहबाटै सञ्चालन गरिने जानकारी उनले दिए ।
सरकारले हायु जातिलाई लोपोन्मुख जातिको सूचीमा राखेर मासिक प्रतिव्यक्ति २ हजार विषेश भत्तासमेत दिँदै आएको छ । मंगोल महावंशको किराँत समुदाय अन्र्तगत पर्ने हायु जाति उदयपुर, सिरहा, भोजपुर, सिन्धुली, काभ्रे, ओखलढुंगा, सर्लाही र रामेछाप जिल्लामा छरिएर बसेको पाइन्छ ।
अत्यन्तै न्यून संख्यामा रहेका कारण यो जातिका भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षणमा कसैले पनि खासै ध्यान दिएको पाइँदैन । पछिल्लो समय छाएको शैक्षिक ज्ञान र जागरणले आफ्नो भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने चेतना हायु जातिमा आएको भएपनि अत्यन्तै थोरै संख्यामा भएकाले यो जाति एक्लैले मृत्यु र विवाह संस्कार चलाउन अप्ठ्यारो छ ।
“शिक्षा, स्थास्थ्य, सडक, खानेपानी जस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर हाम्रो भाषा, संस्कार र संस्कृतिको संरक्षणमा राज्यको ध्यान जाओस्,” जीतबहादुरले भने, “अत्यन्तै थोरै जनसंख्या रहेको हाम्रो जाति यो देशको सम्पत्ति हो ।” यो जाति करिब ५ हजारको सीमित जनसंख्यामा रहेको सामाजिक सेवा तथा राजनीतिमा संलग्न अनन्त हायु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्