साल्ट ट्रेडिङ कर्पाेरेसन सेवामूलक बन्नुपर्छ : मन्त्री यादव

साल्ट ट्रेडिङ कर्पाेरेसनले नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पाेरेसनले छिट्टै तोरीको तेल उत्पादन गर्न लागेको हो । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरू खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकीकरण गर्न सुरु गरेको कर्पाेरेसनले जनाएको छ । कर्पाेरेसनको ५६ औँ वार्षिकोत्सका अवसरमा बुधबार आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो ।
पछिल्लो समय कर्पाेरेसनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको संख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ । सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको संख्या ४४.२ थियो । यो संख्या सन् २००७ मा शून्यमा झरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्पाेरेसनलाई आगामी दिनमा सेवामूलक संस्थाको रूपमा विकसित गर्नुपर्ने खाँचो औंल्याए । “कर्पाेरेसनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रूपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ,” उनले भने ।
सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पाेरेसनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको बताए ।
कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले अगामी वडादसैं, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्फत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् ।
कर्पाेरसनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै संस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए ।
यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल (काठमाडौं) लाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमशः २५ हजार र २० हजार रुपैयाँ छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमशः ३५ हजार, ३० हजार र २५ हजार रुपैयाँ छ ।