वडाध्यक्षलाई पुनर्निर्माण सिकाउँदै आयोजना «

वडाध्यक्षलाई पुनर्निर्माण सिकाउँदै आयोजना

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइअन्तर्गतको भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले स्थानीय निकायका वडाध्यक्ष, वडासचिव, प्राविधिक लगायतलाई पुनर्निर्माणबारे जानकारी दिन सुरु गरेको छ ।
भूकम्पबाट प्रभावित ३१ जिल्लाका २८२ स्थानीय तहका वडाध्यक्ष, वडासचिव र प्राविधिकहरूलाई भूकम्पपछिको पुनर्निर्माणमा संलग्न विभिन्न निकाय, तिनको जिम्मेवारी एवं पुनर्निर्माणसँग सम्बन्धित कार्यविधिका विषयमा जानकारी दिन सुरु गरेको हो । अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रममार्फत पुनर्निर्माणबारे जानकारी दिनका लागि सुरु गरिएको आयोजना निर्देशक इश्वरचन्द्र मरहट्टाले जानकारी दिए । उनका अनुसार सोमबार रसुवाको पार्वतीकुण्ड गाउँपालिकाबाट सुरु भएको कार्यक्रम सबै स्थानीय तहमा पुगी माघ मसान्तभित्र सक्ने लक्ष्य राखिएको छ ।
स्थानीय विकास मन्त्रालयका अनुसार, पहिलो चरणमा भूकम्पप्रभावित ११ जिल्ला रामेछाप, सिन्धुली, नुवाकोट, लम्जुङ, पाल्पा, म्याग्दी, दोलखा, धनकुटा, चितवन, रसुवा र सिन्धुपाल्चोकमा अभिमुखीकरण कार्यक्रम हुनेछ । जिल्लामा कार्यक्रम सञ्चालन गर्न ११ वटै टोली जिल्लातर्फ परिलाचन भएको मन्त्रालयले जनाएको छ । कार्यक्रमबाट केन्द्र र स्थानीय तहबीचको दूरी कम हुने, निजी आवास पुनर्निर्माण कार्यले तीव्रता पाउने एवं पुनर्निर्माणसँग सम्बन्धित विभिन्न कार्यविधि र प्रक्रियाका बारेमा जनप्रतिनिधिमा रहेको अन्योलता चिर्न सफल हुने आयोजनाको अपेक्षा छ ।
आयोजनाका अनुसार, हालसम्म पहिचान भएका कुल ७ लाख ६७ हजार ७ सय ५ प्रभावितमध्ये ६ लाख ७६ हजार ८४९ प्रभावितसँग अनुदान सम्झौता भएको छ । सम्झौत भएकामध्ये हालसम्म ६ लाख ६४ हजार ६४४ लाभग्राहीले पहिलो किस्ता लिए पनि दोस्रो किस्ता लिनेको संख्या भने १ लाख १५ हजार मात्र छ ।

प्रतिक्रिया दिनुहोस्