Logo

आत्मनिर्भर बन्दै कैदीबन्दी, बजार समस्या भएको गुनासो

कञ्चनपुर-कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा रहेको कारागारका कैदीबन्दीहरू आत्मनिर्भर बन्न थालेका छन् । जिल्ला कारागार कञ्चनपुरभित्र रहेका कैदीबन्दीहरूले आफ्नै लगानीमा विभिन्न प्रकारका सीप सिकेर बुनाइका सामग्री तयार पार्दै आत्मनिर्भर बनिरहेका छन् । २ सय ८२ जना रहेको कारागारमा १९ जना महिला कैदीबन्दी छन् । सीप भएका कैदीबन्दीहरूले बाँसे र प्लास्टिकका डोरीलाई बुन्दै आकर्षक खालका मुडा बनाउने गरेका छन् ।
कञ्चनपुर कारागारमा १ वर्षदेखि बस्दै आएका गोकुलप्रसाद श्रेष्ठले कारागारभित्र गाडीको नम्बर प्लेट, साइन बोर्ड, पेन्टिङ गरिरहेको बताए । उनले भने, “बाहिर बाट अर्डर आएअनुसार बनाउने र बिक्रीका लागि बाहिर पठाउने गरेको छु । मैले डिजाइनिङ पनि गर्छु र कारागारभित्रै १ वर्षमा ५६ जनालाई ट्रेनिङ दिइसकेको छु भोलिको दिनमा कारागारबाट बाहिर गएर पनि यै काम गरेर आफ्नो जीबीको पार्जन गर्न सक्छन् ।” उनले फाटो हेरेर आफैं फाटो पनि बनाउने गरेको बताए । कारागार भित्र पनि उनले भित्तामा थु्रपै ठाउँमा कविता तथा जनचेतनामूलक सामग्रीहरू भित्तामा लेख्ने गरेका छन् ।
त्यस्तै कारागार भित्रै बस्ने हरिचन्द्र राना पनि मुडा बनाउने काममा दिनभरी व्यस्त हुन्छन् । उनले भने, “दैनिक २÷३ वटा मुडाहरू बनाउँछु यसले आफ्नो सोडा साबुन खर्च चलेको छ ।” उनीसँगै बस्ने अर्का वीरबहादुर चौधरी पनि मुडा र डाइनिङ टेबल बनाउँछन् । कारागारभित्र साधन स्रोतको कमीले भनेजस्तो काम गर्न नसकेको उनी बताउँछन् । उनले भने, “साधन स्रोत भए दैनिक ५० वटा जति मुडा उत्पादन गर्न सकिन्थ्यो ।” उत्पादनभन्दा पनि उनलाई बजारको चिन्ताले पिरोलेको छ । उत्पादन गरेको मुडा बिक्रीका लागि बजारको समस्या हुने गरेको उनले बताए । उनले भने, “उत्पादन गरेर पनि बिक्रि गर्नका लागि बजार छैन त्यतिकै बनाएर राख्न सकिँदैन एउटा मुडा बनाउन करिब ३ देखि ४ सयसम्म लागत लाग्ने गरेको छ ।” उनले मुडा बनाएरै आफ्नो खर्च चलिरहेको बताए । उनले भने, “अर्डर आए मैले डाइनिङ टेबल पनि बनाउँछु ।” एउटा मुडा ठूलो साइजको ७ सय र सानो साइजको मुडा ३ सयसम्म बेच्ने गरेको उनले बताए ।
त्यस्तै कारागारमा नै बस्ने अर्का श्यामलाल राना माछा मार्ने जाल बुन्ने गरेका छन् । उनी एउटा जाल बुन्न करिब १ महिना समय लाग्ने गरेको बताउँछन् । उनले भने, “१ जालको ४ हजार रुपयाँ लिने गरेको छु । तर, या बिक्री गर्न समस्या छ बजार छैन ।” यसरी आफ्नो सीप कला प्रयोग गरेको कैदीबन्दीहरूले आफ्नो जीविकोपार्जन गर्ने गरेका छन् ।
कैदीबन्दीहरूले व्यक्तिगत आफैंले बनाएर आफैं बेच्ने गरेको कञ्चनपुर कारागारका जेलर श्यामराज भट्टले बताए । उनले भने, “उनीहरूको समय सदुपयोग पनि हुन्छ आफ्नो खर्च पनि चल्छ,” जेलर भट्टका अनुसार गत साल भीमदत्त नगरपालिकाले कारागारका २५ जना महिला पुरुषलाई तालिम दिएको छ । स्थानीय सरकार, सीप विकास तथा घरेलु कार्यालयले यस्ता किसिमका सीपमूलक कार्याक्रम ल्याउन सके आर्थिक अवस्था सुध्रिने जेलर भट्टले बताए । उनले भने, “कारागारका कैदीकन्दीलाई सीप सिकाएर आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग विकास समिति तथा सीप विकासलगायतका सरकारी निकायसँग पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेको बताए । जेलर भट्टले कैदीबन्दीहरूले मुडा तथा महिलाहरूले माला बनाउने गरेको बताए । यस्ता सामग्री बनाउँदा समयको सदुपयोग हुने र दैनिक खर्च चलाउन पनि सजिलो हुने गरेको कैदीबन्दीहरूले बताए ।

कारागारमा क्षमता भन्दा तेब्बर कैदी
२०३४ सालमा स्थापना भएको कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २ सय ८२ जना कैदीबन्दी छन् । जसमध्ये १९जना महिला कैदीबन्दी र १२ जना भारतीय नागरिक छन् । कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए । उनका अनुसार कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको भए पनि कारागारको अवस्था उस्तै छ ।
“कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ,” जेलर भट्टले भने, “समस्या समाधान भएको छैन ।” कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीले भवन निर्माण गर्ने जानकारी आएको जेलर भट्टले बताए । उनले भने, “पछिल्लो समय अपराध बढ्दै गए र मुद्दा बढ्दै गएकाले कैदीबन्दी थपिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्