Logo

विद्युत् आपूर्ति नियमित गर्न मर्मत गरिँदै

नेपाल विद्युत् प्राधिकरणले आगलागीका कारण क्षति पुगेको बालाजु सबस्टेसनको ट्रान्सफर्मर मर्मत कार्य अघि बढाएको छ । सबस्टेसनमा रहेका २ वटा २२.५ एमभीएको ट्रान्सफर्मरमध्ये एउटाको उच्च भोल्टेज बुसिङमा शनिबार राति करिब ७ बजे आगलागी भएको थियो । यसबाट बालाजु र महाराजगंजको बीचको विद्युत् आपूर्तिमा गडबढी भएकोले प्राविधिक टोली खटिई मर्मत भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आइतबार सबस्टेसनको स्थलगत निरीक्षण गरी मर्मतसम्भारको काम छिट्टो सक्न निर्देशन दिएका थिए । “आगलागी भएको बुसिङ फेरि तेल हालिएको छ, लो भोल्टेज बुसिङमा पनि समस्या देखिएकाले त्यसलाई फेर्ने काम भइरहेको छ,” प्रवक्ता अधिकारीले भने, “मर्मत सम्भारको काम चाँडोभन्दा चाँडो सकेर विद्युत् आपूर्ति नियमित गर्न प्राधिकरण लागिरहेको छ ।”
बालाजु सबस्टेसनमा पिक समयमा करिब ३१ मेगावाट विद्युत् माग छ । साधारण समयमा सबस्टेसनमा चालू रहेको एउटा ट्रान्सफर्मरले लोड धाने पनि पिक समयमा नधान्ने हुँदा आलोपालो गर्र्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति कटौती गरिएको अधिकारीले जानकारी दिए । “एउटा ट्रान्सफर्मरमा आगलागी भएपछि त्यस क्षेत्रमा करिब १५ मेगावाट विद्युत् आपूर्ति गर्न सकिँदैन,” उनले भने, “यसले गर्दा त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा केही गडबढी भएको छ ।”
धर्मस्थली, विष्णुमती, नागार्जुन, महाराजगञ्ज(१, महाराजगञ्ज(२, टेकु(१, बीआईडी(१, बीआईडी(२, नयाँ बजार फिडरबाट विद्युत् आपूर्ति भएका क्षेत्र प्रभावित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्