Logo

विदेशबाट फर्केर तरकारी खेती

डडेल्धुरा-वैदेशिक रोजगारीका सिलसिलामा ७ वर्षभन्दा लामो समयसम्म खाडीमुलुक मलेसियामा रगत र पसिना बगाएका अमरगढी नगरपालिका–७ का डम्मरबहादुर पार्कीले स्वदेश फर्किएर तरकारी खेतीबाटै मनग्य आम्दानी गर्न थालेका छन् ।
आफ्नो २ रोपनी जमिनमा लगाएको गोलभेंडा, काउली, साग, बोडी, काँक्रो, खुर्सानीलगायतका बेमौसमी तरकारी तथा फलफूल खेतीबाट एक सिजनमा मात्र ५० हजार रुपैयाँ आम्दानी लिने गरेको पार्कीले बताए । “सात वर्ष मलेसियाको गर्मीमा बगाएको पसिनाले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर मैले तरकारी खेती सुरु गरेको हुँ,” उनले भने, “विदेशमा दैनिक १६ घण्टासम्म काम गर्दा पनि घरखर्च चलाउन धौधौ पर्दथ्यो, अहिले सहज भएको छ ।” उनले तरकारी खेतीका लागि दैनिक चार घण्टा मात्र काम गर्ने गरेको बताए ।
पार्कीलाई तरकारी खेती गर्न परिवारका अन्य सदस्यले पनि सहयोग गर्दै आएका छन् । श्रीमतीसहित पाँच जना परिवार यसैको भरमा पालिएको उनले बताए । बजारका लागि कृषि संकलन केन्द्र भएकाले झन् सजिलो भएको उनको भनाइ छ । संकलन केन्द्रले आफैंले बजारमा लगेर बिक्री गर्ने गरेको भन्दै उनले यसबाट आफूहरू सन्तुष्ट रहेको बताए । मेहनत गर्ने हो भने एकै सिजनमा तरकारी खेतीबाट एक लाख रुपैयाँ आम्दानी गर्न सकिने उनको भनाइ छ । तरकारी खेती गर्न सबैभन्दा बढी लगानी मलबीउमा लाग्ने गरेको उनी बताउँछन् । तर अग्र्यानिक खेती गर्दा यो रकमसमेत जोगिने गरेको उनको भनाइ छ ।
स्थानीय बहुउद्देश्यीय विकास समाज, रिज्म, कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि परियोजनालगायत सहकारी तथा गैरसरकारी संघ–संस्थाले आवश्यक तालिम, बीउ उपलब्ध गराउने गरेको बहुउद्देश्यी विकास समाजका महासचिव अशोक वमले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम प्रमुख टीकाराम थापाले किसान आफैंले मल उत्पादन गरे उत्पादन लागत कम पर्ने बताए । पछिल्लो समयमा डडेल्धुराका कृषक व्यावसायिक तरकारी खेतीतर्फ अकर्षित भएका छन ।

प्रतिक्रिया दिनुहोस्