पानीजहाज चलाउन नेपाल–भारतबीच प्राविधिक बैठक

रेलको ट्र्याक खोल्ने काम अन्तिम चरणमा
प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाज सञ्चालन गर्ने घोषणालाई डुंगासँग तुलना गरेर मजाक उडाउने काम भइरहेका बेला सरकारले पानीजहाज सञ्चालनका लागि आवश्यक काम अगाडि बढाएको छ । सरकारले पानीजहाज सञ्चालन गर्ने प्रधानमन्त्री ओलीको घोषणा कार्यान्वयनका लागि प्राविधिक पक्षमाथि छलफल सुरु गरेको हो ।
जल तथा ऊर्जा आयोगले भारतको पानीजहाज प्राधिकरणका पदाधिकारीलाई काठमाडौं झिकाएर पानीजहाज सञ्चालनको विषयमा छलफल गरेको आयोगले जनाएको छ । आइतबार सुरु भएको छलफलमा नेपाल र भारत दुवै पक्षले आआफ्नो प्रस्तुति गरेका छन् । दुवै पक्षको प्रस्तुतिमा हाल गरिरहेको काम र भविष्यका योजना समावेश छन् । छलफल प्रस्तुतिमाथि केन्द्रीत रहेको आयोगका सहसचिव माधव बेल्वासेले जानकारी दिए ।
बेल्वासेका अनुसार छलफलमा नेपालले जल यातायात सञ्चालनका लागि कोसी र नारायणीमध्ये कुन नदी उपयुक्त हुन्छ भन्ने विषयमा भारतको सुझाव मागेको छ । सबै नदीमा एकैपटक जल यातायात सञ्चालन गर्न सम्भव नरहेको भन्दै नेपालले प्राविधिकरूपमा सम्भव हुने एउटा नदीको नाम सिफारिस गर्न आग्रह गरेको बताइएको छ ।
दुई दिने छलफलपछि स्थलगत अध्ययन गरेर एउटा नदी छानी समयतालिका बनाइ जल यातायात सञ्चालनको काम तीब्र रूपमा अगाडि बढाइने सहसचिव बेल्बासेले बताए । भारतीय अधिकारीसँगको छलफलमा जल तथा ऊर्जा आयोगका अलावा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकृतहरू पनि सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनको अन्तिम साता गरेको भारत भ्रमणका क्रममा नेपाललाई जल यातायातले जोड्ने सम्झौता गरेका थिए । त्यही सम्झौता कार्यान्वयनका लागि दुई देशका अधिकृतहरूको बैठक बसेको हो ।
भारतले जयनगर–बर्दिबास, जोगबनी–विराटनगर, नौतनवा–भैरहवा, रूपैडिया–नेपालगञ्ज र जलपाइगुरी–काकरभिट्टा मार्गमा रेल गुडाउने प्रक्रिया अघि बढाएको छ । बैठकमा यी बिषयमा पनि छलफल हुनेछ । यी पाँच मार्गमध्ये नेपाल सरकारले बर्दिबाससम्म आउने भारतीय रेललाई सर्लाहीको लालबन्दीसम्म ल्याउन तथा जोगवनी–विराटनगरमा ट्र्याक निर्माणको कामलाई तिब्रता दिएको भारतीय रेल मन्त्रालयले जनाएको छ ।
रेल मन्त्रालय अन्तर्गतको इरकोन इन्टरनेसनल लिमिटेडका अनुसार जोगवनी बिराटनगरको ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भारतीय कम्पनी इरकोनले नेपाल भारतबीच विभिन्न पाँच स्थानमा रेलमार्ग जोडने जिम्मा पाएको छ । केही महिनाअघि इरकोनका कार्याकारी निर्देशक एके गोयलले नेपाली सञ्चारकर्मीसँग नेपालको तर्फबाट जमिन प्राप्त भइसकेको र आगामी अक्टोबरसम्म जोगवनी बिराटनगरको ट्र्याक सकिने बताएका थिए । उनका अनुसार भारत सरकारले फण्ड जुटाउने र नेपालले जमिन उपलब्ध गराउने सम्झौता भएको र सोही अनुसार काम अघि बढेको छ । यी पाँच मार्गमा रेल गुडाउने सम्बन्धमा नेपाल र भारतबीच ८ वर्षपहिले नै सम्झौता भएको छ । जोगबनी बिराटनगरको परियोजनाले सफलता पाउनेवित्तिकै नेपाल भारतबीचका अरु परियोजनाहरूमा काम गर्न सहज हुने भारतीय पक्षको दाबी छ ।
नेपाल भारत सीमामा आवश्यक रेलवे र आधारभूत संरचनाको विकास गर्ने बिषयमा नेपाल भरातबीच सन २०१० मा हस्ताक्षर भएको छ । जसमध्ये भारतको जयनगरदेखि नेपालको बर्दिवाससम्म ६८.७२ किलो मिटर रेलको ट्र्याक आवश्यक पर्छ ।
यस्तै, भारतको नौतनवादेखि भैरहवासम्म १५.३० किलोमिटर भारतको नेपालगञ्ज रोडदेखि नेपालको नेपालगञ्जसम्म १२.११ किलो मिटरमा रेलको ट्र्याक बनाउने सम्झौता भएको छ । यस्तै, भारतको न्यूजल्पाइगुरीदेखि नेपालको काकरभित्तासम्म सबैभन्दा लामो ७० किलोमिटरको दूरीमा रेलमार्ग बिस्तार गर्ने सम्झौता भएको इरकोनले जनाएको छ । यी सबै क्षेत्रमा सम्भाव्यता अध्ययन भइसकेको र काम अघि बढेको भारतीय पक्षले जनाएको छ । नेपाल भारत रेलमार्ग निर्माणको जिम्मेवारी पाएको रेल विभागका अनुसार लालबन्दी बर्दिवास जयनगर जनकपुर रेलमार्ग निर्माणकालागि ट्र्याक खोल्ने काम भइरहेको छ ।