केरुङ–काठमाडौं रेलबारे प्रधानमन्त्री नै अस्पष्ट

काठमाडौंमा रेल पु-याउने माओको सपना सीले पूरा गर्छन्ः ओली
काठमाडौंसम्म चिनियाँ रेल ल्याउने प्रारम्भिक सहमति भए पनि यसमा लगानी कसले गर्ने र कहिलेसम्म निर्माण गरिसक्ने भन्नेमा झन् अन्योल देखिएको छ । चिनियाँ रेलको चुनावी नाराले लोकप्रिय बनेका प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पहिलो चीन भ्रमणपछि आफ्नो पुरानो अडानबाट पछाडि फर्केका छन् ।
हरेकजसो सार्वजनिक कार्यक्रममै दुई वर्षभित्र केरुङबाट काठमाडौंमा रेल ल्याउने अभिव्यक्ति दिँदै आएका ओली आइतबार स्वदेश फर्कने क्रममा विमानस्थलमा भने चिनियाँ रेलका सम्बन्धमा भावनात्मक कुरा गर्दै पन्छिए । “पहिले पूर्वसम्भाव्यता अध्ययन गरौं, त्यसपछि लगानीको कुरा गरौंला,” ओलीले विमानस्थलमा भने, “काठमाडौंमा रेल पुर्याउने माओको सपना सी (चिनियाँ राष्ट्रपति)ले पूरा गर्छन् ।”
ओलीले रेलमार्गको निर्माण विश्वकै जटिल प्रविधि भएकाले हतारमाभन्दा पनि परिपक्व ढंगले काम गर्न चाहेको जिकिर गरे । नेपालमा चिनियाँ जहाज २ वर्षमै आइपुग्छ भन्ने आफ्नो अभिव्यक्तिमा टिप्पणी गर्नेलाई विगतमा कटु आलोचना गर्ने ओलीको बोली आइतबार भने फेरिएको थियो । उनले नेपालतर्फको भूबनोट भिरालो रहेकाले हतार गर्नुभन्दा पनि परिपक्व ढंगले सम्भाव्यता अध्ययन गर्न आवश्यक रहेको भन्दै अध्ययन सकिएपछि रेलमार्ग बनाउने काम अगाडि बढ्ने प्रष्टीकरण दिँदै आफ्ना पूर्वअभिव्यक्तिको बचाव गर्ने प्रयाश गरे ।
चीनले केही समयदेखि केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिरहेको छ । सम्भाव्यता अध्ययनमा चिनियाँ टोलीलाई सघाइरहेका नेपाली प्राविधिकहरूले भूबनोटका कारण केरुङबाट काठमाडौंसम्म रेल ल्याउन निकै जटिल रहेको बताउँदै आएका छन् ।
रेलमार्ग कहिले बन्छ भन्नेमा अस्पष्ट रहेका प्रधानमन्त्री ओलीले रेलमार्ग निर्माणमा खर्च हुने रकम कसले बेहोर्ने भन्ने विषयमा पनि स्पष्ट जवाफ दिन सकेनन् । सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, “जोसँग पैसा छ उसैले लगानी गर्छ, पैसा नहुनेले लगानी गर्नुपर्दैन ।” तर, प्रधानमन्त्रीले केरुङ–काठमाडौं रेलमार्ग चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओत्से तुङकै सपना भएको बताए । काठमाडौंमा रेल पुर्याउने सपना माओत्सेतुङले नै देखेको र त्यसलाई सि जिनपिङले पूरा गर्ने प्रतिवद्धता जनाएको उनले बताएका हुन् । “चेयरम्यान माओले पनि यो कुरा भन्नु भएको थियो, अहिले जिनपिङले पुरा गर्छु भन्नु भएको छ,” ओलीले भने ।
विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा चीन भ्रमणका क्रममा पारवहन तथा यातायात सम्झौता कार्यान्वयनका लागि अर्को महिनाभित्र प्रोटोकल तयार पार्ने, बन्द रहेको तातोपानी नाका ११ महिनाभित्र सञ्चालनमा ल्याउनेलगायत सम्झौता भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । प्रधानमन्त्री ओलीको यस पटकको भ्रमणमा नेपाल र चीनबीच सम्पन्न ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ सम्बन्धी समझदारीको कार्यान्वयनमा तीब्रता दिन दुबै पक्षले हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जालको बृहत्तर फ्रेमवर्क भित्र रही रेल्वे, सडक, बन्दरगाह, हवाईमार्ग र सञ्चारजस्ता क्षेत्रमा सहयोग अगाडि बढाउने कुरामा दुबै पक्षबीच सहमति भएको छ ।
नेपालमा तेल तथा ग्याँसको अन्वेषणको सम्भाव्यता अध्ययनका लागि सहयोग उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको स्मरण गर्दै ओलीले पेट्रोलियम पदार्थको भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चिनियाँ पक्षले अध्ययन गरी सहयोग गर्ने जनाएको पनि बताए । नेपालको चीनको छेन्दुमा नेपाली महावाणिज्यदूतावास स्थापना गर्ने सम्बन्धी प्रस्तावलाई चिनियाँ पक्षले सकारात्मक रूपमा लिएको तथा सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने नेपालको घोषणा अनुरूप चीनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यमा सहयोग गर्न चिनियाँ सरकार सहमत भएको पनि उनले बताए ।
यस्तै, विगतमा भएका सम्झौता कार्यान्वयनको ढाँचा तयार पार्ने, दुई देशको सद्भाव अभिवृद्धि गर्ने, सरकारका प्राथमिकता अवगत गराइ आर्थिक विकासका लागि सहयोग जुटाउने लगायत उद्देष्य राखी प्रधानमन्त्री ओली १ सय १९ सदस्यीय टोलीको नेतृत्व गरी निजी एयरलाइन्सको विमान चार्टर गरेर असार ५ गते चीन गएका थिए ।