तालिमप्राप्त पूर्वकमैया रोजगारमा

जिल्ला भूमिसुधार कार्यालय बाँकेको सहयोगमा सञ्चालित वृत्ति विकास तथा व्यावसायिक तालिम पाएका बाँकेका १ हजार ५ सयजना पूर्वकमैया रोजगारमा लागेर राम्रो आम्दानी गर्न सफल भएका छन् । तालिमपपछि उनीहरू विभिन्न व्यवसायमा संलग्न भई राम्रो आयआर्जन गर्दै आएका हुन् ।
यसरी रोजगारमा लागेका पूर्वकमैयाहरूले मासिक १५ देखि २० हजारसम्म सहज रूपमा आम्दानी गरिरहेका छन् । आर्थिक वर्ष २०७१ साल मसान्तसम्म जिल्ला भूमिसुधार कार्यालय बाँकेले पुनःस्थापित भइसकेका करिब ३ हजार पूर्वकमैयालाई वृत्ति विकास तथा व्यावसायिक तालिम प्रदान गरेको थियो । तालिम पाएकामध्ये आधाजसो १ हजार ५ सयजना पूर्वकमैया स्वरोजगार बनेको जिल्ला भूमिसुधार कार्यालयले जनाएको छ । तालिम पाएपछि पूर्वकमैयाको जीवनमा ठूलो परिवर्तन आएको समेत उक्त कार्यालयको ठहर छ ।
तालिम पाएका पूर्वकमैया बेमौसमी तरकारी खेती, सिलाइकटाइ, कुखुरापालन, सिकर्मी, डकर्मी, ड्राइभिङ, च्याउखेती, बेतबाँस, फलफूल ठेला व्यापार, बाख्रापालन व्यवसायमा संलग्न भएका छन् । स्वरोजगार भएका पूर्वकमैयाले आफ्नो व्यवसायबाट राम्रो आम्दानी गरिरहेको उनीहरू बताउँछन् ।
रोजगारमा लागेकाबाहेक तालिम लिएका अन्य पूर्वकमैया सम्पर्कमा नभएकाले उनीहरू कुन अवस्थामा छन् भन्ने थाहा हुन सकेको छैन । पूर्वकमैयालाई भूमिसुधार कार्यालयले दुई दिनको कुखुरापालन तालिमदेखि पाँच महिनाको सिलाइकटाइसम्मको तालिम प्रदान गरेको थियो । तालिमपछि उनीहरूलाई व्यवसायमा संलग्न गराउन १० हजारदेखि ५० हजारसम्म अनुदानसमेत दिने गरेको भूमिसुधार कार्यालयले जनाएको छ ।
कुनैबेला २५ वर्षसम्म अर्काको घरमा कमैया बसेका कोहलपुर–३ लोकनगरका रामु चौधरी अहिले राम्रो आम्दानी गर्ने बंगुर व्यवसायी भएका छन् । भूमिसुधार कार्यालयको तालिमपछि उनले कोहलपुरमा बंगुरपालन व्यवसाय थालेका थिए । “व्यवसायबाटै मैले ८ कठ्ठा जग्गा जोडे,” चौधरीले बताए । रामुमात्रै नभएर लोकनगरका अर्का मुक्तकमैया दिनेश थारुले पनि फर्निचर बनाउने काम सिकेर अहिले नेपालगन्जस्थित एक फर्निचरमा काम गरिरहेका छन् । उनले पनि हाल मासिक १५ देखि २० हजारसम्म कमाएको बताए ।
यसैगरी तालिम लिएकामध्ये केहीले सोही आम्दानीबाट आफ्नो घरसमेत निर्माण गरिसकेका छन् ।