Logo

जग्गा विवादले सिंगटी–लामोसाँघु प्रसारण लाइनको काममा अवरोध

दोलखा-सिंगटी–लामोसाँघु १३२ केभी प्रसारण लाइनमा पर्ने जग्गा किनबेच हुँदा टावर निर्माणमा समस्या परेको छ । आयोजनाको काम ढिला हुँदा प्रसारण लाइनको टावर बस्ने जग्गा किनबेच भएको छ भने भने लाइनमा पर्ने ठाउँमा घर समेत बनेका छन् । अहिले तिनै जग्गाको किनबेच हुँदा र लाइन क्षेत्रमा बनेका घरकै कारण टावर निर्माण र तार तान्नका लागि बाधा उत्पन्न भएका छन् ।
आयोजनाले ठेकेदारमार्फत टावर निर्माण गर्न जाँदा किनबेच भएर व्यावसायिक काममा प्रयोग हुँदा मुआब्जा समेत निर्धारण हुन सकेको छैन । टावर ठड्याउने ठाउँमा स्थानीयले रुट सार्न माग गर्दै अवरोध गरेपछि आयोजनाको काम पूरा हुन सकेको छैन ।
दोलखाको भीमेश्वर नगरपालिका–८ (साविक बोच गाविस वडा नं. ५) मा रहेको कित्ता नं. ७४९ जग्गामा ७४ नं. टावर निर्माण गर्नु पर्ने आयोजनाले निर्धारण गरेको छ । वरपरका टावर उठाएर तारतान्ने काम पनि भइरहेको छ । तर यहाँ जग्गाधनीले टावर निर्माण नगरी रुट परिवर्तन गर्न आग्रह गर्दै आएको छ ।
यो जग्गा तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिको नाममा छ । तर यो जग्गा २०७३ भदौ १ गते मात्र ज्योति केसीबाट किनेको हो । जग्गा किनेर तिलोत्तमाले करोडौं लगानी गरी सकेको छ । कृषि सम्बन्धि अध्ययन अनुसन्धान, प्रशोधन र चिस्यान केन्द्र राख्ने योजनासहित संरचना तयार हँुँदै छन् । तर यही ठाउँमा टावर निर्माण हुने भएपछि तिलोत्तमाका योजनामा पनि प्रभावित हुने भएको छ ।
२ वर्षमा बन्ने प्रसारण लाइन १० वर्ष पुग्दा
नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन २ वर्षमा पूरा गर्ने गरी भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । तर आयोजनाको काम समयमा काम नहुँदा जग्गा समेत किनबेच हुँदा अहिले समस्या भएको हो । तर १० वर्ष बित्न लाग्दा समेत प्रसारण लाइन बन्न सकेको छैन ।
आयोजनाले प्रसारण लाइनमा पर्ने जग्गा निर्धारण गरेर २०६९ फागुन १३ गते नै सार्वजनिक सूचना प्रकाशन गरेर अधिग्रहण गर्नु पर्ने जग्गाधनीसँग दाबी विरोध र सुझाव मागेको थियो । कानुनले तोकेको १५ दिनभित्र कोही पनि जग्गाधनीले आफ्ना कुरा राखेका थिएनन् ।
आयोजनालाई आवश्यक जग्गा अधिग्रहण गर्नका लागि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मालपोत, नापी कार्यालयका प्रमुखहरु र आयोजना प्रमुखसहितको एक समिति समेत हुन्छ । सूचना तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय, नापी, मालपोत र तत्कालीन बोच गाविस कार्यालयमा समेत टाँस गरेको प्रसारण लाइनका आयोजना प्रमुख राजन ढुङ्गेलले बताए ।
सुरुमा घर र बस्ती छलेर प्रसारण लाइनको सर्भे गरेपनि अहिले भूकम्प पछि ठाउँ ठाउँमा तारमुनी पर्ने गरी घरहरु बनेका छन् । बोचकै टावर नं. ७४ र ७५ को बीचमै पनि घर बनेका छन् । भीमेश्वर नगरपालिका वडा नं. ९ को झिंगानेमा स्थानीयले प्रसारण लाइनको टावर निर्माण गर्न नदिएर अवरोध गरेका हुन् ।
झिंगानेमा पनि स्थानीयले प्रसारण लाइनको रुट सार्नु पर्ने तथा यसमा सहमति नजुटे मुआब्जा र क्षतिपूर्ति रकम बढाउन माग गर्दै ४ वटा टावर निर्माण गर्न दिएका छैनन् । झियानेको भूकम्पभन्दा अघि सर्भे गरेको ठाउँमा स्थानीयले भूकम्पपछि घर बनाएका छन् । त्यो ठाउँमा रुट परिवर्तन गर्न स्थानीयले माग गरेका हुन् । प्रसारण लाइनको बोचमा ७४ टावर र झियानेमा ८१, ८२, ८४ र ८६ न नं. टावरमा समस्या छ ।
आयोजना प्रमुख ढुङ्गेलले जग्गा प्राप्ति ऐन २०३४ अनुसार सबै जग्गा लिने हो । तर ऐनमा सार्वजनिक सूचना जारी गरेपछि रोक्का राख्नु पर्ने व्यहोरा कतै उल्लेख नभएकाले जग्गा रोक्का नराखेको बताए । तर जग्गा सर्भे गर्दा जग्गाधनीलाई जानकारी दिने र सम्बन्धित गाविसलाई तत्कालिन रुपमा जानकारी दिएको बताए । तलमाथिका टावर निर्माण भइसकेकाले प्राविधिक रुपमा पनि एउटा÷दुई वटा टावर सार्न नसकिने बताए । टावर मुनी परेका घर र परियोजनाको समितिले मूल्यांकन गरेर क्षतिपूर्ति दिने बताए ।

जग्गाधनीको आफ्ना समस्या
तिलोत्तमा हिमाली फूड प्रोडक्सन एण्ड रिसर्ज सेन्टर प्रालिले यही ठाउँमा २०७१ र २०७३ सालमा गरी ४० रोपनी जग्गा खरिद गरेको छ । यहाँ प्रालिले नर्सरी, खेती, किबी प्रशोधन केन्द्र, सित भण्डार, ट्राउट माछापोखरी, रिसोर्टलगायतका योजना बनाएर काम भइरहेको छ । योजनास्थलसम्म पुग्न सडक निर्माण भइसकेको छ ।
दोलखाका केही उद्यमी मिलेर कम्पनीमार्फत कृषिलाई व्यावसायिकरण गर्नका लागि ५ वर्षदेखि काम गर्दै आएका छन् । नजिकै ५० रोपनी जग्गा भाडामा लिएर खेती समेत गर्दै आएका छन् । “राज्यको एउटा निकायले कृषिको काम गर्नका लागि प्रोत्साहन गर्ने भनिरहेको छ” रिसर्ज प्रालिकी सञ्चालक उषा थापाले भनिन्, “राज्यकै अर्को निकायले लगानीकर्तालाई निरुत्साहित गर्ने गरी आतंकित हुने गरी जग्गामा हडप्न खोजेको छ ।” टावर गाड्न भनेको सुनेको तर अहिलेसम्म आयोजना पक्षबाट कुनै पनि लिखित जानकारी र छलफल समेत नगरेको बताइन् । उनले ६ महिना अघि नै प्रमुख जिल्ला अधिकारीमार्फत लिखित रुपमा टावरको रिरुट गराउन पत्र समेत दिएको बताइन् ।
‘पहिला नै प्रसारण लाइन बन्ने भन्ने जानकारी पाएको भए हामी अन्यत्रै जग्गा व्यवस्थापन गथ्र्यौं’ उनले भनिन् ‘जग्गा रोक्का हुन्थ्यो होला तर मालपोतले पास गरेपछि अहिले व्यावसायिक काम हुन थालेपछि टावरका कुरा आएका छन् ।’ राज्यका निकायबाटै कृषिमा काम गर्नेहरुलाई निरुत्साहित गर्न थालेको छ । अहिले ४० करोड लगानी गर्ने गरी बैंकिङ ऋणको प्रक्रिया समेत सुरु भएको उनले बताइन् ।
टावर निर्माण गर्दा बीचबाट प्रसारण लाइन पर्छ । यसबाट माछा पोखरी र चिस्यान केन्द्रलाई प्रत्यक्ष असर पार्छ । राज्य अभिभावक भएकाले थोरै लगानी थपेर टावर अन्यत्रबाट घुमाउँदा राम्रो लगानीकर्ताको भनाई छ ।

राज्यकै लगानी जुध्यो
विद्युत् प्राधिकरणले प्रसारण लाइन बनाउने ठाउँमा प्रदेश सरकारका मन्त्री दावादोर्जे लामाले गत असोजमा सितभण्डारको सिलान्यास गरे । अहिले सित भण्डार निर्माण भइरहेको छ । सित भण्डारका लागि बागमती प्रदेश कृषि, सहकारी मन्त्रालयले ७० प्रतिशत लगानी गरेको छ भने तिलोत्तमाले ३० प्रतिशत । सित भण्डारको लागत ४ करोड ८५ लाख रहेको छ । त्यही सित भण्डार अहिले प्रसारण लाइन मुनी पर्ने अवस्था छ ।
४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावरमध्ये ११७ वटाको जग हालिसकिएको छ । १०९ वटा टावर ठड्याउने काम सम्पन्न भएको छ । ३३ किलोमिटर सिंगल सर्किट तारसमेत टांगिएको छ । प्रसारण लाइनको निर्माण आगामी वैशाखभित्रमा सक्ने लक्ष्य छ । स्थानीय अवरोध हटाउन प्राधिकरणले प्रयास जारी राखे पनि सफल नहुँदा पछिल्लो तालिका पनि प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्