गंगा हेल्थ केयरको सेयर बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं– साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इन्डस्ट्रिजले सर्वसाधारमा सेयर जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सम्झौतमा गंगा हेल्थ केयरका अध्यक्ष सुरजप्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरे । कम्पनीले जारी पुँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्नेछ ।
नेपालमा गुणस्तरीय स्वास्थ्य सामग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले २०५५ मा घरेलु तथा साना उद्योगमा दर्ता भई स्थापना भएको गंगा ब्यान्डेज उद्योग, हाल गंगा हेल्थ केयरको नामबाट तिलोत्तमा नगरपालिका–१४ रुपन्देहीमा रहेको छ ।
उद्योगले कच्चा पदार्थ आयात तथा प्रशोधन गरी ड्रेसिङ ब्यान्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, ब्यान्डेज थान, क्रेप ब्यान्डेज, डिस्पोजेबल मास्कलगायत उत्पादन गर्दै आएको छ ।