पुँजी उत्पादन अनुपातको महत्व तथा आवश्यकता

कुनै पनि राष्ट्रको अर्थतन्त्र सन्तुलित र दिगो रूपमा अगाडि बढ्नका लागि विभिन्न तत्वव जिम्मेवार रहेका छन् । एउटा, देशको अर्थतन्त्र वा उद्योग, कम्पनी राम्ररी सञ्चालन गर्नका लागि पुँजी आधारभूत तत्ववका रूपमा रहेको हुन्छ । विश्लेषकहरू तर्क गर्छन् कि पुँजी कुनै पनि मुलुकको अर्थतन्त्र सुदृढ गर्ने एउटा मात्र केन्द्रीय तत्वव होइन, तर मुलुकको आर्थिक वृद्धिमा यसको निर्णायक भूमिका भने उच्च रहने गर्छ ।
स्पष्ट छ कि राष्ट्रका कम्पनी वा उद्योगको अर्थतन्त्रमा पुँजीको लगानी र आम्दानीबीचमा पारस्परिक सम्बन्ध रहेको हुन्छ । पुँजी निर्माण तथा लगानीपश्चात् मात्र राष्ट्रको आम्दानी, उद्योग वा कम्पनीको आम्दानीमा गतिशीलता आउने वा आय वृद्धि हुने कुरा सर्वविदितै छ । यदि कुनै राष्ट्रको अर्थतन्त्रमा वा निजी कम्पनी, उद्योग, फर्म आदि क्षेत्रमा जुन तहमा पुँजी लगानी गरिन्छ, पुँजी निर्माण गरिन्छ, सोहीअनुरूप प्रतिफल प्राप्त हुनु, आम्दानी वृद्धि हुनुलाई पुँजीको प्रतिफल वा उत्पादन अनुपात भनिन्छ । स्पष्ट रूपमा भन्नुपर्दा यो पुँजी लगानीको मूल्य र उत्पादन प्रतिफल मूल्यबीचको सम्बन्ध नै पुँजीको उत्पादन अनुपात हो ।
डी ब्राइट सिंह भन्छन्, ‘औसत पुँजी उत्पादन अनुपात भनेको एक समयावधिमा उपलब्ध पुँजीको मौज्दात तथा त्यही समय अवधिको उत्पादनबीचको परिमाणात्मक सम्बन्ध हो ।’ कुनै पनि अर्थतन्त्रमा पुँजीको प्रतिफल लागत ५ः१ छ भन्नाले १ भाग प्रतिफल प्राप्त गर्न पाँच भाग पुँजी लगानी आवश्यक पर्छ भन्ने कुरा बुझिन्छ ।
पुँजी प्रतिफल अथवा उत्पादन अनुपातका प्रकारहरूमा (१) औसत पुँजी प्रतिफल अनुपात र (२) सीमान्त वा वृद्धि पुँजी प्रतिफल अनुपात पर्छन् ।
औसत पुँजी उत्पादन वा प्रतिफल अनुपात भन्नाले पुँजीको एक्जिटिङ स्टक र वर्तमान प्रतिफलको रिजल्ट्यान्ट फ्लोबीचको सम्बन्धलाई बुझाउँछ । औसत पुँजी प्रतिफल अथवा उत्पादन अनुपातले विद्यमान पुँजीको मौज्दात तथा त्यसको परिणाममा भएको वर्तमान उत्पादन प्रवाहबीचको सम्बन्ध देखाउँछ । औसत पुँजी उत्पादन अनुपातले विगतमा लगानी गरिएको तथा सम्पूर्ण आम्दानीलाई जनाउँछ ।
त्यसैगरी सीमान्त तथा वृद्धि पुँजी–प्रतिफल अनुपात भन्नाले प्रतिफलको वृद्धि रकम र पुँजी सञ्चयको वृद्धिमा देखा परेको परिणामबीचको सम्बन्धलाई बुझिन्छ । डी ब्राइट सिंहको भनाइअनुसार, ‘सिमान्त वा वद्र्धनीय पुँजी उत्पादन अनुपात भनेको एउटै समय अवधिमा पुँजीमा भएको वृद्धि तथा उत्पादनमा भएको वृद्धिबीचको सम्बन्ध हो ।’
पुँजीको प्रतिफल अनुपातलाई प्रभाव पार्ने तत्ववहरूमा (१) उपयोग गरिएको पुँजी रकम, (२) जनसंख्या वृद्धि, (३) प्राकृतिक स्रोतहरूको आपूर्ति, (४) प्रविधि विकासको तह, (५) माग ढाँचा, (६) रोजगार नीति, (७) लगानी दर, (८) साधनको मूल्य परिवर्तन, (९) रोजगारीको स्थिति, (१०) शिक्षाको प्रसार र (११) आर्थिक–सामाजिक आधारशिला पर्छन् ।
पुँजीको प्रतिफल अनुपातमा प्रभाव पार्ने अन्य तत्ववहरूमा शिक्षाको विस्तार, सहरीकरण, औद्योगीकरण, आयात र निर्यातको प्रभाव, संगठनात्मक सीपको गुण र सामाजिक-आर्थिक खर्चको उपयोग पर्छन् ।
पुँजी उत्पादन अथवा प्रतिफल कहिले बढी हुन्छ ?
(१) यदि देशमा भारी उद्योगहरूको स्थापना गरिन्छ भने पुँजी उत्पादन अनुपात बढी हुन्छ ।
(२) यदि युद्धोपरान्त अथवा बाढी र भूकम्पपछि विभिन्न सार्वजनिक कार्य (घर, सडक आदिको निर्माण) अन्तर्गत धेरै निवेश गरिरहेको छ भने पुँजी उत्पादन अनुपात बढी हुन्छ ।
(३) साना तथा घरेलु उद्योगभन्दा ठूला उद्योगको विकास र विस्तारलाई बढी महत्व दिएमा पुँजी उत्पादन अनुपात बढी हुन्छ । कृषिमा पुँजी उत्पादन अनुपात कम हुन्छ ।
(४) पुँजीगत सामानको क्षमतालाई पूर्ण उपयोग नगरिएमा पुँजी उत्पादन अनुपात बढी हुन्छ । यसकारण यो मन्दीको समयमा बढी र तेजीको समयमा कम हुन्छ ।
(५) कर वृद्धि, मजदुरी वृद्धि र कच्चा मालको मूल्यमा वृद्धि गरेर पुँजी उत्पादन अनुपातमा प्रतिकूल प्रभाव पार्छ । अर्थात् यस्तो अवस्थामा यो अनुपात बढ्न जान्छ ।
(६) उद्यमकर्ता, प्रबन्धकर्ता र श्रमिक अकुशल भएमा उत्पादकत्व घट्न जान्छ, जसले गर्दा पुँजी उत्पादन अनुपात बढ्न जान्छ ।
(७) उत्पत्ति ह्रास नियम लागू भएमा पनि पुँजी उत्पादन अनुपात बढ्न जान्छ ।
(८) दीर्घ समय अन्तराल भएका परियोजनाहरूमा पनि पुँजी उत्पादन अनुपात बढ्छ ।
(९) पुँजीप्रधान प्रविधि अपनाएमा पनि पुँजी उत्पादन अनुपात बढ्न जान्छ ।
पुँजी उत्पादन-अनुपात कहिले कम हुन्छ ?
(१) यदि देशमा भारी उद्योगभन्दा लघु तथा घरेलु उद्योगको स्थापना र त्यसको विस्तार भइरहेको छ । (२) यदि देशमा श्रमप्रधान प्रविधि अपनाइरहेको छ ।
(३) यदि उद्योगहरूको समस्त क्षमताको उपयोग गरिरहेको छ ।
(४) यदि उत्पादन वृद्धि नियम लागू भइरहेको छ ।
(५) यदि देशको उद्यमकर्ता, प्रबन्धकर्ता र श्रमिक कुशल छ ।
(६) यदि कम समय अन्तराल भएको परियोजनाहरू चालू भइरहेको छ ।
(७) यदि देशमा आन्तरिक र बाह्य किफायतहरू उपलब्ध भइरहेको छ ।
(८) यदि देशमा नयाँ–नयाँ साधनहरूको खोजी गरिरहेको छ ।
उच्च पुँजी उत्पादन अनुपात पक्षका तर्कहरूमा अल्पविकसित मुलुकमा पुँजीको प्रतिफल अनुपात उच्च हुनुपर्छ । किनकि यहाँ पुँजी स्रोत प्रयोगहीन अवस्थामा रहेका हुन्छन् । उत्पादनको परम्परावादी सोचले गर्दा त्यहाँ थुप्रै पुँजीका स्रोत प्रयोगविहीन अवस्थामा रहेका हुन्छन् । अल्पविकसित मुलुकमा प्राकृतिक स्रोतहरूको आपूर्ति सीमित हुन्छ र तिनीहरूलाई पुँजीद्वारा धेरैभन्दा धेरै प्रतिस्थापन गर्नुपर्छ, जसले गर्दा पुँजी प्रतिफल अनुपात वृद्धि हुन्छ ।
अल्पविकसित मुलुकमा थुप्रै सामाजिकरआर्थिक खर्चहरूः यातायात, शक्ति, शिक्षा आदिमा आवश्यक पर्छ । जुन खर्च पुँजीद्वारा प्रभावित हुन्छन् । प्राविधिक पछौटेपन उच्च पुँजी प्रतिफल अनुपातको मुख्य कारण हो, पिछडिएका प्राविधिक कारण पुँजी कम उत्पादनमुखी हुन्छ । अल्पविकसित मुलुकमा पुँजीको प्रतिफल अनुपात उच्च हुनुपर्छ । जहाँ प्राकृतिक स्रोतहरू उपयोग गर्नका लागि उच्च मात्रामा पुँजीको आवश्यकता पर्छ । अल्पविकसित मुलुकमा नयाँ मेसिन, औजार तथा इन्टरप्राइजेज हरेक कच्चा पदार्थ र पुँजी लगानीभन्दा टाढा रहेका हुन्छन्, जसले गर्दा पुँजीको प्रतिफल अनुपात उच्च हुन्छ । अल्पविकसित राष्ट्र«मा पुँजीयोग्य वस्तुको कुशलता कम रहेको हुन्छ जसले गर्दा पुँजीकेन्द्रित वस्तुको उत्पादनमा उच्च खर्च लाग्छ र पुँजीको प्रतिफल अनुपात उच्च हुन्छ ।
पुँजी उत्पादन तथा प्रतिफल अनुपातको पक्षका तर्कहरूमा अस्तित्वमा रहेको पुँजीको पूर्ण परिचालनले पुँजीको प्रतिफललाई न्यून बनाउँछ । एउटा अल्पविकसित राष्ट्र« पुँजीको अभावले गर्दा पुँजी बचततर्फ लागेको हुन्छ र तिनीहरूले श्रमकेन्द्रित प्रविधिलाई अवलम्बन गर्छ, जसले गर्दा न्यून पुँजीको आवश्यकता पर्छ । जनसंख्याको वृद्धिले गर्दा पुँजीको प्रतिफल अनुपात घट्दो हुन्छ । अल्पविकसित मुलुकमा पुँजी लगानीका कारण प्रतिफल बढेको पाइन्छ, जहाँ प्राकृतिक स्रोत र साधनको उच्च उपयोग गरिएको हुन्छ । स्रोत र साधनको पूर्ण परिचालनका कारण पुँजीको प्रतिफल अनुपात न्यून हुन्छ । कृषि उत्पादन तथा श्रम केन्द्रित विकासका कार्यहरू गर्ने सम्बन्धमा पुँजी प्रतिफल अनुपात न्यून हुन्छ । योजनाबद्ध अर्थतन्त्रको तुलनामा योजनाविहीन अर्थतन्त्रमा पुँजीको प्रतिएकाइ प्रतिफल न्यून हुन्छ ।
पुँजीको प्रतिफल अनुपातका सीमाहरूमा विश्वसनीय तथ्यांकको अभाव, पुँजीको प्रतिफल अनुपात स्थिर नहुनु, विश्लेषणका विश्वसनीय सामग्री नहुनु, मन्दीमा उपयोगी हुँदैन, मानव पुँजीको बेवास्ता, प्राविधिक परिवर्तन, उपयुक्त मान्यताको अभाव, पुँजीलाई उच्च जोड, मूल्यमा उतारचढाव, क्षमताको न्यून उपयोग, परिपूरक तत्ववहरूको अभाव, पुँजी र प्रतिफलको गणनामा कठिनाइ पर्छन् ।
प्रोफेसर मेयरको विचारमा पुँजी उत्पादन अनुपातलाई ध्यानमा राख्दा त्यसको प्रयोगमा अनेक कठिनाइ आउँछन् । जर्ज रोजनको विचारधाराअनुसार, ‘कम पुँजी उत्पादन अनुपात आफैँमा कुनै आकर्षक कुरा होइन । जसले निवेश अथवा विनियोगको निर्णयलाई प्रभावित गर्छ । कम पुँजी उत्पादन अनुपात प्राप्त गर्न उन्नत प्रविधिलाई छोडेर पिछडिएको प्रविधि अपनाउन सकिँदैन ।’ बेन्जामिन हिगिन्सको विचार छ कि पुँजी उत्पादन अनुपातको प्रयोगमा अनेक कठिनाइ आउँछ । यदि गम्भीर भूलबाट बच्नु छ भने कठिनाइहरू सावधानीपूर्वक हटाउनु आवश्यक छ ।’
संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार यो आवश्यक छैन कि कुनै निवेशबाट पुँजी उत्पादन अनुपातकै अनुसार उत्पादन हुन्छ । यो त केवल सहसम्बन्धको प्रवृत्तिको द्योतक हो, अर्थात् यसले कुनै निश्चित निष्कर्ष निकाल्न सक्दैन ।