Logo

अझै कालोपत्रे हुन सकेन बेलौरी–कलुवापुर सडक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनामा समेटिएको कञ्चनपुरको बेलौरी, कलुवापुर, बङ्क, नाइल बुडर सडकखण्ड कालोपत्रेको काममा ढिलाइ हुँदा उक्त क्षेत्रका नागरिकले सास्ती खेप्नु परिरहेको छ । उत्तरतिर सुदूरपहाडी जिल्ला डोटी र दक्षिणतिर भारतसँग जोडिने कञ्चनपुरको व्यापारिक मेरुदण्ड सडकका रूपमा हेरिएको उक्त मार्ग स्तरोन्नति नहुँदा त्यहाँका नागरिकले सास्ती खेप्नु परेको छ भने अर्कोतिर उक्त क्षेत्रको विकासमा समेत असर परेको छ ।

२०३४ सालमा कलुवापुरदेखि दक्षिण भारतको खजुरिया पुरनपुर सबहाइवेसँग मिलान हुने गरी ४० किलोमिटर सडकको सर्भे डिजाइन गरिएको थियो । नेपालभित्र मात्रै पनि बेलौरीदेखि कलुवापुरसम्म ३१ किलोमिटर सडकखण्ड सर्भे भएको थियो । त्यसैगरी पछिल्लो पटक कालोपत्रेका लागि ठेक्का आह्वान भएको पनि सात वर्ष बितिसकेको छ् । तर निर्माण कम्पनीले भने अझै कालोपत्रेको काम पूरा गरेको छैन ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी आनसिंह डाँगीले यो वर्ष काम सक्ने गरी निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताए । अन्यत्र जस्तै ठेकेदारको लापरबाहीको चरम नमुना उक्त सडक पनि बन्न पुगेको छ । उत्तरतिर सुदूरपहाडी जिल्ला डोटी र दक्षिणतिर भारतसँग जोडिने सहायक मार्गका रूपमा हेरिएको उक्त सडक स्तरोन्नति नहुँदा यहाँका नागरिक मात्रै नभई, व्यापारिक गतिविधि समेत प्रभावित बन्न पुगेको छ ।

निर्माण कम्पनीले समयमै कालोपत्रेको काम नगर्दा अहिले उक्त सडकमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् । त्यसैगरी नेपाल सरकारले ठेक्का लगाएको उक्त सडक आयोजना देश संघीय संरचनामा गइसकेपछि प्रदेश सरकार मातहत आयो । बेलौरी, कलुवापुर सडक खण्डमा, बङ्क, नाइल बुडर सडक खण्डसमेत जोडेर प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखेको थियो । संघीय सरकार मातहत नै रहेको हुलाकी सडक खण्डको अवस्थासमेत उस्तै छ ।

समयमै निर्माणकार्य नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । बेलौरी, कलुवापुर सडक खण्डअन्तर्गत चान्देवदेखि कालागौडी पुलसम्म करिब पाँच किलोमिटर सडक शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकोले आवश्यक प्रक्रिया पूरा नगरेको भन्दै निकुञ्जको अवरोध देखाइएको छ । हुलाकी सडक खण्डअन्तर्गत बेलौरीको पचुई क्षेत्रमा डेढ किलोमिटर बढी सडक खण्डमा भारतीय पक्षको अवरोध रहेको छ । निर्माण व्यवसायीले भने यिनै अवरोधलाई बहाना बनाई बाँकी कामसमेत रोक्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्