Logo

म्याग्दी खोलामा पक्की पुल निर्माण

म्याग्दी– म्याग्दीमा गाउँगाउँमा पुग्ने सडक, पुल निर्माणले तीव्रता पाएको छ । म्याग्दीको पश्चिम भेगका जनतालाई लक्षित गरेर म्याग्दी नदीमा धमाधम पक्की पुल बनिरहेका छन् । हालसम्म चारवटा पुल बनिरहेका छन् भने अन्य ठाउँमा आवश्यकता अनुसार निर्माण हुने चरणमा छन् । पुल बनेपछि जोखिम मोलेर नदीमा सवारी आवतजावात गर्ने समस्या घट्दै गएको छ ।

मालिका गाउँपालिका–१ निस्कोटलाई गाउँपालिकाको केन्द्र दरबाङ बजार जोड्ने गरी छ्यारछ्यारेस्थित म्याग्दी नदीमा पक्की पुल निर्माण भएको छ । पुल निर्माण भएपछि वडा नम्बर १ निस्कोट र गाउँपालिकाको केन्द्र दरबाङसँंग सिधा सम्पर्क स्थापित भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले प्रदिप जुम्ली जेभीसँग २०७७ साउन ४ गते चार करोड ४५ लाखमा ४० मिटर लामो पुल निर्माणको ठेक्का लगाएको थियो ।

उक्त योजनाअन्तर्गत स्टिल ट्रष्ट प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिए । स्टिल ट्रस्टमाथि ढलान गरी दुवैतर्फ फुटपाथ बनाइएको छ भने पुललाई रंगरोगन र सरसफाइको काम यसैसाता सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

दुई वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्धारित मितिमा सम्पन्न नभएपछि यही असोज ३० गतेसम्मका लागि अन्तिम पटक म्याद थप भएको थियो । हिउँदयाममा म्याग्दी खोलाबाटै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र बर्खायाममा पूर्ण रुपमा सवारी आवागमन प्रभावित हुने गरेको अवस्थामा पक्की पुल निर्माण भएपछि राहत भएको मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टंकप्रसाद पुनले बताए ।

उनका अनुसार, यो पुल निर्माण भएसँगै निस्कोटका साथै म्याग्दीको मंगला गाउँपालिकाको छिसवाङ, टिकवाङ र मालिका गाउँपालिकाकै रुम र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारणसमेत लाभान्वित हुने भएका छन् । निस्कोटबाट मंगला गाउँपालिकाको टिकाबाङ, निस्कोटबाट रुम, निस्कोटबाट ताराखोला र निस्कोटको खोप्टीदेखि छिसबाङ सडक सञ्जालले जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्