ग्लोबल आइएमई र बीओके क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेड र साबिक बैंक अफ काठमाण्डू लिमिटेडको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमिटेड एक आपसमा मर्ज भएका छन् ।
मर्जपछि ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबारको औपचारिक शुभारम्भ भएको छ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भई २०७९ पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एकीकृत कारोबारको औपचारिक रुपमा शुभारम्भ गरे ।
हमालले मर्चेन्ट बैंकर कम्पनीले निष्कासन तथा बिक्री प्रबन्ध तथा प्रत्याभूतिकर्ताको रुपमा काम गर्दा संस्थागत दायित्वसमेत बहन गर्दै थप वित्तीय विश्लेषणको आवश्यकता रहेकोतर्फ जोड दिए । उनले बजारको स्थायित्व र विकासमा समेत मर्चेन्ट बैंकरको अहम् भूमिका हुने भएकाले संस्थागत सुशासनसहित प्रभावकारी सेवा प्रवाहमा लाग्न सुझाव दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले मर्जरपछि पुँजीका आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा स्थापित भएकोमा सोही अनुरुप सेवाको गुणस्तर कायम गरी नियामकीय निकायको निर्देशन पालना गर्दै अगाडि बढ्न सुझाव दिए । ढकालले नियामकीय निकाय नेपाल धितोपत्र बोर्डलाई मर्चेन्ट बैंकरहरुले हाल गर्दै आएका कामको दायरा विस्तार र आधुनिकीकरणका लागि पहल गर्न ध्यानाकर्षण पनि गराए ।