देवीहाट बुधबारे बजारमा नगरपालिकाको डोजर

झापाको बिर्तामोड नगरपालिकाले बिर्तामोड नगरपालिका–५ मा रहेको देवीहाट बुधबारे बजारमा व्यावसायिक प्रयोजनका लागि बनाइएका घर, टहरालगायतका संरचना डोजर प्रयोग गरी हटाएको छ । बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको देवीहाट बुधबारे बजारमा विगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीलाई उक्त ठाउँमा बहुतले व्यावसायिक भवन निर्माण गरिने भन्दै विगत दुई महिनादेखि बिर्तामोड नगरपालिकाले ३५, १५, १० र ३ दिने सूचना जारी गरेर व्यवसायीलाई घर, टहरालगायतका संरचना हटाउन निर्देशन दिएको थियो ।
व्यवसायीले आफूहरूको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यावसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरी अटेर गरेर घर, टहरा, संरचना हटाउन नमानेपछि बिर्तामोड नगरपालिकाले बाध्य भएर १० वटा डोजर प्रयोग गरी घर, टहरा, संरचना हटाएको हो । घर, टहरालगायतका संरचना हटाउन बिर्तामोड नगरपालिकाले शनिबार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर घर, टहरालगायतका संरचना खाली नगरेपछि सोमबार मध्यान्ह १२ बजेपछि डोजर लगाएर घर, टहरालगायतका संरचना भत्काएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
बिर्तामोड नगरपालिकाले २०७७ सालदेखि देवीहाट बुधबारे बजारमा बहुतले व्यावसायिक भवन निर्माण गर्न त्यस ठाउँमा व्यवसाय सञ्चालन गरिरहेका घरटहरा हटाउन आग्रह गर्दै आए पनि त्यहाँका व्यापारीले बिर्तामोड नगरपालिकाको आग्रहलाई उल्लंघन गर्दै ठाउँ खाली गर्न मानिरहेका थिएनन् । दाता रामबाबु प्रसाईंले एक बिगा तीन कठ्ठा जग्गा प्रदान गरेर देवीहाट बुधबारे बजार स्थापना गरेको र बिर्तामोड नगरपालिकाले स्वामित्व लिएको देवीहाट बुधबारे बजारमा नगर विकास कोषको लगानीमा बहुतले व्यावसायिक भवन बनाउने निर्णय भइसकेकाले डोजर चलाएर भए पनि व्यावसायिक प्रयोजनका लागि बनाइएका घर, टहरालगायतका संरचना हटाइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।
बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिले विशेष बैठक बसेर एकमतका साथ देवीहाट बुधबारे बजारमा व्यावसायिक प्रयोजनका लागि बनाइएका घर, टहरालगायतका संरचना खाली गराउने निर्णय गरेको थियो । व्यवसायीलाई नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै ठाउँ खाली गर्न आह्वान गर्दा नमानेपछि कानुनबमोजिम डोजर लगाएर ठाउँ खाली गराइएको उनले बताए । राजनीतिक दलहरूको सहमतिकै कारण बिर्तामोड नगरपालिकाले कार्यपालिकाबाट निर्णय गर्दै देवीहाट बुधबारे बजारमा बहुतले व्यावसायिक भवन निर्माण गर्न लागेको र भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने प्रतिबद्धतासमेत जनाएको उनले बताए ।
बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले डोजर चलाउने क्रममा कुनै पनि अप्रिय घटना नभएको बताए । उनले डोजर चल्न थालेपछि व्यापारीहरू आफैंले सामान हटाएर सहयोग गरेको दाबी गरे । युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रबहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरूको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् । संघीय सरकारको स्वरोजगार प्रवर्द्धन गर्ने नीतिविरुद्ध बिर्तामोड नगरपालिकाले सयौंलाई बेरोजगार बनाएको उनले आरोप लगाए ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले देवीहाट बुधबारे बजारमा व्यवसाय सञ्चालन गर्दै गरेका व्यवसायीलाई वैकल्पिक व्यवस्थापन नगरी डोजर चलाएर बिर्तामोड नगरपालिकाले व्यवसायीलाई उठिबास लगाएको घटनाको निन्दा गरेका छन् । विर्तामोड–५ स्थित देवीहाट बुधबारे बजारमा १९४ वटा पसल रहेको बताइएको छ ।