कोल्डस्टोरले किसानलाई सहजता

दाङ-लमही नगरपालिका–५ निवासी काशीराम चौधरीले यस वर्ष टिकुलीगडमा रहेको कोल्ड स्टोरमा आलुको बीउ राखेका छन् । गत वर्षसम्म बीउ आलु राख्नका लागि बुटवल, भैरहवादेखि चितवनसम्म लैजाने गरेका थिए । तर, चौधरीले अहिले लमहीमा रहेको राप्ती कोल्डस्टोरमा बीउ आलुसँगै तरकारीसमेत राखेका छन् ।
देउखुरीमा कोल्डस्टोर नहुँदासम्म जिल्ला बाहिरका कोल्डस्टोरमा लैजाने गरेका चौधरीले अहिले गाउँमै रहेको कोल्डस्टोरमा राख्ने गरेको बताए । “यहाँ कोल्डस्टोर नहुँदा बुटवलदेखि चितवनसम्म लैजाने गरेको थिए,” चौधरीले भने, “टाढा लैजाँदा खर्च धेरै हुने गरेको थियो, अहिले गाउँमै हुँदा सजिलो भएका छ ।” देउखुरी मै कोल्डस्टोर हुँदा समयको बचतसँगै खर्चसमेत कम हुने गरेको उनको भनाइ छ । यसले गर्दा कृषकको आर्थिक भारसमेत कम गराएको बताए ।
बीउ आलुसँगै उत्पादन गरेको तरकारी राख्न सहज होला भनेर स्थानीय कृषकहरू मिलेर कोल्डस्टोर सञ्चालन गरेको चौधरीले बताए । त्यस्तै टिकुलीगड कै सुन्दर चौधरीले पनि सहज भएको बताए । “कोल्डस्टोर नहुँदा घरमै उत्पादन भएको बीउ आलुसमेत बाहिर लैजानुपर्ने अवस्था थियो तर अहिले बाहिर लैजाने आवश्यकता छैन,” उनले भने । कोल्डस्टोर सञ्चालनमा आएपछि तरकारीको मूल्य नभएको बेला राख्ने र मूल्य बढेको बेला बेच्न सहज भएको उनको भनाइ छ । काशीराम चौधरी र सुन्दर चौधरी जस्तै धेरै किसानहरूलाई कोल्ड स्टोरले तरकारी खेती गर्न सहज बनाइ दिएको छ । उनीहरूले सिजनमा उत्पादन गरेका तरकारी बेमौसमी सिजनमा बेच्नका लागि कोल्ड स्टोरमा राख्ने गरेका छन् । कोल्डस्टोर किसानसँगै देउखुरीका व्यवसायीहरूलाई समेत उपयोगी बनेको छ । व्यवसायीहरूले स्याउलगायतका फलफूलहरू कोल्डस्टोरमा राख्ने गरेको कोल्डस्टोरका लेखापाल केवल चौधरीले बताए ।
उनका अनुसार कोल्डस्टोरमा स्याउ, आलु, गोपी, गाँजर, अंगुर, अनारलगायतका फलफूल तथा तरकारी राखिएको बताए । कोल्डस्टोरको क्षमता ३२ सय मेट्रिक टन अट्ने रहे पनि क्षमताअनुसारको तरकारी तथा फलपूmल आउन नसकेको समेत बताए । “देउखुरीमा धेरै तरकारी खेती हुने गरेको छ, तर खेतीअनुसारको तरकारी कोल्डस्टोरमा आउने गरेको छैन,” लेखापाल चौधरीले भने । जानकारीको अभावमा होला, बरु सस्तोेमा बेच्छन् तर कोल्डस्टोरमा राखेर मूल्यवृद्धि भएको बेच्ने ज्ञानको विकास अझै नभएको उनको भनाइ छ ।
देउखुरीका किसानहरूलाई सहजतका लागि साना तथा मझौला आयस्तर आयोजनाको २ करोड ९९ लाख र राप्ती उद्यम प्रालिको सात करोडको लगानीमा तीन वर्ष पहिले कोल्डस्टोर स्थापना गरिएको थियो । प्रालिमा जिल्लाका ७५ जना व्यवसायी तथा किसानहरूको सहभागिता छ । देउखुरीसँगै प्युठान, अर्घाखाँची लगायतका जिल्लाहरूका किसान तथा व्यवसायीहरूले तरकारी तथा फलफूल कोल्डस्टोरमा राख्न ल्याउने गरेका छन् । प्रालिले किसानहरू प्रतिकेजी पाँच रुपैयाँका दरले राख्ने गरेको छ ।
पछिल्लो समय कोल्डस्टोर खुल्ने क्रम बढ्दै जाँदा किसानहरूसँगै व्यवसायीहरूलाई समेत सहज भएको छ । लामो समयसम्म बीउ तथा फलफूलहरू राख्नलाई कोल्डस्टोर नहुँदा कुहिने तथा सुक्ने समस्या रहे पनि कोल्डस्टोर निर्माणसँगै समस्या हटेको व्यवसायीहरूले बताउने गरेका छन् ।
जिल्ला देउखुरी र घोराही तथा पश्चिम दाङमा गरी ठूला साना गरेर चारवटा कोल्डस्टोरहरू सञ्चालनमा रहेको बताइएको छ । तर, कोल्टस्टोर सञ्चालकहरूले सोचेअनुसार सामग्री आउन नसकेको गुनासोसमेत गरेका छन् ।