तीन महिनामा दुई प्रतिशत विकास बजेट खर्च

घोराही उप महानगरपालिकाले पहिलो त्रैमासिकसम्ममा दुई प्रतिशत पुँजीगत खर्च गरेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनाको अवधिमा दुई प्रतिशतमात्र पुँजीगत खर्च गरेको हो ।
उप महानगरको समग्र कार्यक्रममा एक अर्ब ६ करोड ६८ लाख ९ हजार ५ सय बजेट रहेकोमा तीन महिनाको अवधिमा दुई करोड सात लाख ६९ हजारमात्र खर्च गरेको घोराही उप महानगरपालिकाले बेवसाइटमा राखेको त्रैमासिक प्रतिवेदनमा उल्लेख गरिएको छ । जुन दुई प्रतिशतमात्र हो । चालूतर्फ २२ प्रतिशत खर्च गरेको छ । चालूतर्फ एक अर्ब २७ करोड २२ लाख ६९ हजार ५ सय बजेट रहेकोमा तीन महिनाको अवधिमा २८ करोड ६१ लाख ७७ हजार खर्च गरेको छ ।
उप महानगरपालिकाले तीन महिनाको अवधिमा जम्मा १३ प्रतिशत बजेट खर्च गरेको छ । जम्मा बजेट दुई अर्ब ३३ करोड ९० लाख ७९ हजार बजेट रहेकोमा ३० करोड ६९ लाख ४७ हजार खर्च गरेको छ । उप महानगरपालिकाअन्तर्गत तीन महिनाको अवधिमा जम्मा ९.०६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ १९.१६ प्रतिशत र पुँजीगत खर्च २.२६ प्रतिशत खर्च भएको छ ।
संघीय सरकारबाट हस्तान्तरित कार्यक्रमअन्तर्गत जम्मा २२.३८ प्रतिशत बजेट खर्च भएको छ । जसमा चालूतर्फ २५.९४ प्रतिशत खर्च भएको छ भने पुँजीगत बजेट खर्च हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रदेश सरकारअन्तर्गत हस्तान्तरित चालू तथा पुँजीगत बजेट खर्च हुन सकेको छैन । घोराही उप महानगरपालिकाले चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा आन्तरिक स्रोतबाट ३० करोड २६ लाख ११ हजार रुपैयाँ आम्दानी गरेको छ ।