चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले दसैंं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिएको छ । बैठकले दशैंका लागि घर जाने यात्रुहरुको लागि सहज ढंगले टिकट पाउने गरी काउन्टरहरुको आवश्यक व्यवस्था गर्न निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।
“दसैंं, तिहार, छठजस्ता चाडपर्वका बेला थप जनशक्तिहरु उपलब्ध गराएर, प्रविधिहरुलाई पनि जुटाएर बजार अनुगमन गर्ने कुराहरुलाई थप प्रभावकारी बनाउनु पर्दछ ।”
समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाई गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि गृह मन्त्रालयलाई निर्देश गरिएको समितिका सभापति पन्थले बताए । “शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन र काला बजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न गृह मन्त्रालयलाई पनि समितिले निर्देशन दिन्छ” उनले भने ।
बैठकमा समितिका सदस्यहरुले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरुमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।
समिति सदस्य नन्दा चपाईले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् । उनले दण्ड र जरिवानाले मात्रै सवारी साधनलाई दुर्घटना हुनबाट जोलाउन नसकिनेतर्फ पनि सरकारलाई सचेत गराइन् । समिति सदस्यहरुले कालाबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।