फर्निचर एक्स्पोमा प्रदर्शकको उत्साहजनक सहभागिता

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ मा प्रदर्शकहरुको उल्लेख्य सहभागिता हुने भएको छ ।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले एक्स्पोमा नेपालसहित भारत तथा बंगलादेशका प्रदर्शकको उत्साहजनक सहभागिता हुने जानकारी दिएको हो । एक्स्पोको आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले एक्स्पोको आन्तरिक तयारी पूरा गरी भौतिक तयारी सुरु गर्न लागिएको जनाएको हो ।
संघका अध्यक्ष शुभेन्द्र जोशीले फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदान प्रदान गर्न एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने बताए । “किचेन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, हस्पिटल फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै इन्टेरियर डिजाइन, वास्तु परामर्श प्रदर्शनीको आकर्षण रहने छ,” अध्यक्ष जोशीले भने ।
२३ देखि २७ भदौसम्म राजधानीको भृकुटीमण्डमा आयोजना हुने एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी कक्ष रहनेछन् । ५ दिन चल्ने एक्स्पोमा १ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । एक्स्पो अवलोकनकर्ताका लागि प्रवेश निशुल्क गरिएको बताइएको छ । यसका लागि अवलोकनकर्ताले आफ्नो विवरण रजिष्ट्रेशन डेक्समा उपलब्ध गराउनु पर्नेछ । साथै एक्स्पोको डिजिटल पेमेण्ट पार्टनर डिजी पेमार्फत पनि नि:शुल्क प्रवेश पास पाउन सकिनेछ । प्रत्येक दिन डोर प्राइजका साथै दसैं विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रेस्टिज कार्पेटले शीर्ष प्रायोजन गरेको एक्स्पोलाई हलेसी डेकोर, भिबोन इकोनोमिक चेयर, जेन्सा कार्पेट, युनाईटेड फोम एण्ड म्याट्रेसले मुख्य प्रायोजन गरेका छन् । प्रेस्टिज कार्पेटका सञ्चालक अनिल महेश्वरीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ एक्स्पो आयोजना गरिएकाले स्वदेशी ब्राण्ड प्रेस्टिज कार्पेटले मेलामा शीर्ष प्रायोजन गरेको छ ।