विश्व संस्कृत दिवसलाई औपचारिक घोषणा गर्न सरकारसँग माग

संस्कृतज्ञहरुलले श्रावण शुक्ल पूर्णिमाका दिनलाई विश्व संस्कृत दिवसको रुपमा औपचारिक घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार संस्कृत दिवसको अवसरमा काठमाडौंको वाल्मीकि विद्यापीठमा एक कार्यक्रम आयोजना गरेर संस्तज्ञहरुले यस्तो माग गरेका हुन् । आज पाँचौं विश्व संस्कृत दिवस मनाउने क्रममा संस्तज्ञहरुले यस्तो माग गरेका थिए । नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर आज (शुक्रवार) विश्व संस्कृत दिवस मनाइएको हो । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषि तर्पणी) को दिन संस्कृत मनाउने गरिन्छ । जसमा संस्कृत भाषाको जगेर्नाका लागि पहलकदमी गर्न आवश्यक रहेको विद्वान वक्ताहरुले बताएका थिए ।
संस्कृत दिवसको अवसरमा आयोजित पुन: जागरण, जनचेतना, भाषिक चेतना र ज्ञानवृद्धिका कार्यक्रमले गर्दा सञ्चारमाध्यममा संस्कृत भाषाको पहुँच बढेको छ । त्यस्तै संस्कृतानुरागी व्यक्तिहरु पनि बढ्न थालेका छन् । आज नेपालसहित विश्वका ३० भन्दा बढी देशमा संस्कृत भाषा सम्बन्धी विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । यस्ता कार्यक्रमले संस्कृत भाषाको प्रवद्र्धन, संवद्र्धन र उन्नयनमा बढोत्तरी गर्ने आयोजक समितिले बताएको छ ।
संस्कृत भाषाको संवद्र्धन र प्रवद्र्धनमा जोड दिनका लागि यस क्षेत्रलाई महत्वपूर्ण योगदान दिने वरिष्ठ एवं वयोवृद्ध विद्वान–विदुषीमध्येबाट एक जनालाई योगदानको कदर गर्दै विशेष सम्मान र आरुणि संस्कृत शोधवृत्तिको सुरुवात गरिएको थियो । संस्कृत माध्यमबाट प्राचीन वा आधुनिक विषयवस्तुबारे अनुसन्धानका लागि युवा पुस्ताका संस्कृतज्ञलाई १ लाख रुपैयाँ राशिको आरुणि संस्कृत शोधवृत्ति प्रदान गर्न शुरु गरिएको आयोजकले जनाएको छ । पुरस्कार राशि र कार्यक्रम जरो किलो प्रतिष्ठानले शुभारम्भ गरेको हो । कार्यक्रममा विद्वान वक्ताहरुले संस्कृतको बारेमा आम मानिसमा जनचेतना फैलाउन आवश्यक रहेको बताएका थिए ।
संस्कृत भाषाको जननी भएकोले यसको संरक्षण र संवद्र्धन गर्दै थप कार्यक्रम गर्न आवश्यक रहेको बताए । वक्ताहरुले श्रावणपूर्णिमाका दिनलाई विश्व संस्कृत दिवस भनेर नेपालमा औपचारिक मान्यताको निर्णय गर्न र यसलाई वैश्विक मान्यताका लागि संयुक्त राष्ट्रसंघ समक्ष पनि पेस गर्न माग गरेका छन् । उनीहरुले नेपाल सरकारले संयुक्त राष्ट्रसंघमा यो प्रश्ताव पुर्याउन र नेपाल सरकारले पनि संस्कृत भाषाको संरक्षणको लागि महत्वपूर्ण भुमिका खेल्न माग गरेका छन् । अनौपचारिक रूपमा विश्व संस्कृत दिवस वि.सं.२०७५ सालबाट मनाउन थालिएको हो ।