एक सातापछि खुल्यो बेसीसहर–चामे सडक

फागुन-हिमाली जिल्ला मनाङमा यसपटक लामो र ठूलो हिमपात भएसँगै जनजीवन कस्टकर बनेको छ । बारम्बारको हिमपातले सडक अवरोध तथा सवारी साधन सञ्चालनमा समस्या भएको छ ।
करिब एक सातापछि सदरमुकाम चामेसम्म सवारी साधन सिधा सञ्चालमा आएको हो । सडकमा बाक्लो हिउँ जमेको, हिउँपहिरो, साना ठूला पहिरो, सडक नै अवरुद्ध हुने गरी रुख ढल्नेजस्ता समस्याले गर्दा करिब एक साता नासो गाउँपालिका दानाक्युभन्दाको माथिल्लो भेगमा सवारी साधन चल्न सकेका थिएनन् । गाउँपालिका, सुरक्षा निकाय, स्थानीय तथा प्रतिनिधिको प्रयासमा शुक्रबारबाट सदरमुकाम चामेसम्म सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए ।
अब चाँडै नै माथिल्ला क्षेत्रमा पनि सवारी साधन चल्ने देवकोटाले बताए । ठाउँ ठाउँमा गएको हिउँ पहिरो, पहिरो, सडकमा ढलेका रुखहरू हटाएर सदरमुकाम चामेसम्म सडक सञ्चालनमा ल्याइएको देवकोटाले बताए । देवकोटाका अनुसार सदरमुकाम चामेभन्दा माथिका भेगमा त्यस्तो खासै समस्या नभएको बाक्लो हिउँ जमेका कारणले मात्र मनाङका माथिल्ला भेगहरु पिसाङ, हुम्डे, उपर मनाङलगायत खाङसारसम्म चाँडै नै सवारी साधन चल्ने बताए ।
सदरमुकाम चामेसम्मको सडक सहज भएपछि शुक्रबारमात्रै १० वटा बोलेरो जीप सदरमुकाम चामे आएको बोलेरो जीप चालक सुदिप तामाङले बताए । सदरमुकाम चामेभन्दा तलका भेगमा यातायातका कारण खाद्यन्न तथा दैनिक उपभोग्य सामग्री सवारीसाधन चलेपछि सहज भएको छ । सदरमुकाम चामेभन्दा माथिका भेग पिसाङ, हुम्डे उपरमनाङलगायतका विभिन्न स्थानमा सवारी साधन सञ्चालन हुन नसक्दा समस्या परेको पिसाङस्थित होटल सञ्चालक पशुपति अधिकारीले बताए । अब राम्रो मौसम भए मनाङका माथिल्ला भेगमा पनि चाँडै नै सवारीसाधन चल्ने प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । सदरमुकाम चामेभन्दा माथिका भेगमा सडकमा समस्या नभएकाले हिउँ पग्लने बित्तिकै सवारीसाधन चल्ने देवकोटाले बताए ।