शिलन्यास भएपनि पुल निर्माण अघि बढेन

उदयपुर, भोजपुर र खोटाङ जिल्लाको सिमानामा पर्ने सुनकोसी नदीमा दुई वटा पक्की पुल निर्माण कार्यको शिलान्यास भएको चार वर्ष बितेपनि निर्माण कार्यले गति लिन सकेको छैन ।
उदयपुर, भोजपुर र खोटाङ जिल्लालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ भदौ ३१ गते उदयपुरको रानीटार र धाप्लांगघाटस्थित सुनकोसी नदीमा एकै दिन दुई वटा पुल निर्माणको शिलन्यास गरेका थिए ।
“तत्कालीन प्रधानमन्त्रीले सिलान्यास गरी पुल समयमै सम्पन्न हुने बताउनु भएको भएपनि चार वर्ष बितिसक्दा पुल निर्माणको ५ प्रतिशत कामसमेत हुन सकेको छैन” स्थानीय जीवन कालिकोटेले भने, “करिव २३ करोड रुपैयाँको लागतमा २०७६ सालको असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लिएको रसुवा÷एसएनएस÷पप्पु ज्वाइन्ट भेन्चरले रानीटारमा तीन वर्षअघि एउटा खाडल खन्नेबाहेक कुनै काम गरेन ।” त्यसपछि काम नगरी अधिकांश निर्माण सामग्रीसमेत लिएर ठेकेदार कम्पनी हिँडेको उनले बताए ।
उदयपुरको रानीटार र भोजपुरको आमचोक गाउँपालिका जोड्ने गरी सिलान्यास गरिएको पुल सिलान्यासमै सीमित भएपछि भोजपुरका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । “उदयपुर भोजपुर सिधा यातायात सञ्चालनका लागि दुवैतर्फ सडक तयार भइसकेपनि पुल नभएकै कारण भोजपुरका सार्वसाधारणले दैनिक उपभोग्य तथा अन्य सामग्री ढुवानी र आवतजावतमा समस्या भोगिरहेका छन्” वडाध्यक्ष रोहित तामाङले भने, “पुलको अभावमा पश्चिमी भोजपुरको आमचोक गाउँपालिका र खोटाङको जन्तेढुंगा गाउँपालिकाका सर्वसाधारणले बढी सास्ती खेप्नुपरको छ ।”
त्यसैगरी धाप्लांगघाटको पुलको अवस्था पनि उस्तै छ । त्यहाँपनि एउटा पिल्लर उठाउनेबाहेक कुनै काम हुन सकेको छैन । सरकारले वार्षिक रकम विनियोजन नगरेका कारण पुल निर्माण हुन नसकेको ठेकेदारले बताउँदै आएका छन् ।
पूल अभावकै कारण सिधा यातायात सञ्चालन हुन नसक्दा सामान ढुवानी र आवतजावतमा चर्को मूल्य तिनुपर्ने सर्वसाधारणको गुनासो छ । पुल निर्माण नभएकै कारणले त्यस क्षेत्रमा अन्य विकास निर्माणको काम समेत अगाडि बढ्न नसकेको उनीहरु बताउँछन् ।