नृत्य वत्सला मन्दिर उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुरको दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको ‘नृत्य वत्सला मन्दिर’ को शनिबार एक समारोहबीच उद्घाटन गरे । २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्णक्षति भएको उक्त मन्दिर भक्तपुर नगरपालिकाको बजेटमा पुनर्निर्माण गरिएको हो ।
सोही समारोहमा अध्यक्ष बिजुक्छेले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित नृत्य वत्सला मन्दिरसम्बन्धी महत्वपूर्ण विवरण संग्रहित ‘नृत्य वत्सला मन्दिर पुनर्निर्माण २०७८’ पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेले ढुंगैढुंगाले बनेको शिखर शैलीका वत्सला मन्दिर पुनर्निर्माणले भक्तपुर नगरलाई थप जीवन्त बनाएको बताउँदै भक्तपुर नगरपालिकाले गरेको सम्पदा संरक्षण देशकै लागि गौरवको विषय भएको बताए ।
नेपालका प्राचीन र ऐतिहासिक सम्पदा संरक्षण र जीर्णोद्धारमा केन्द्र सरकार उदासीन भएको बताउँदै अध्यक्ष बिजुक्छेले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको खण्डमा स्थानीय जनताको मर्मअनुरुप काम गर्न सहज हुने बताए ।
अध्यक्ष बिजुक्छेले नयाँ पुस्तालाई सम्पदाको महत्वबारे प्रशिक्षित गर्दै मौलिक सीप र प्रविधिको ज्ञान हस्तान्तरण गर्नु आवश्यक भएको बताउँदै भक्तपुर दरबार क्षेत्रमा अवस्थित लाल बैठकलाई मल्लकालीन शैलीमा पुनर्निर्माण गर्न आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले भक्तपुरको सम्पदा संरक्षण भक्तपुरबासी जनताले आफ्नो साझा दायित्वको रूपमा लिएको बताउँदै मन्दिर पुनर्निर्माण गर्ने भक्तपुर नपा, उपभोक्ता समिति र पुनर्निर्माणमा आबद्ध कालीगढ सबै धन्यवादका पात्र भएको बताए ।
वत्सला मन्दिर पुनर्निर्माणका लागि भक्तपुर नगरपालिकाले एक करोड २८ लाख ६२ हजार लगत स्टिमेट पारित गरेको र उपभोक्ता समितिमार्फत आवधिक योजनामा समावेश गरी ७७ लाख १३ हजार खर्चमै पुनर्निर्माण सम्पन्न भएको नगर प्रमुख प्रजापतिले अवगत गराए ।