Logo

ई–रिक्सा चलाएर राम्रो आम्दानी गर्दैछन्, बाँकेका महिलाहरू

नेपालगन्ज-केही वर्ष पहिलेसम्म पुरुषहरूले मात्र चलाउँदै आएको ई–रिक्सा हाल आएर बाँकेका महिलाहरूले पनि चलाउन थालेका छन् । ब्याट्री रिक्सा चलाएर राम्रो आम्दानी हुन थालेपछि एकपछि अर्कोगरी जिल्लाका दुई दर्जन जति महिलाहरूले अहिले ई–रिक्सा चलाइरहेका छन् ।
तीन वर्षदेखि गाउँ–गाउँबाट तरकारी किनेर कोहलपुर हाट बजारमा तरकारी व्यापार गरिरहेकी कोहलपुरकी रामकली चौधरीले ब्याट्री रिक्सा चलाएर मनग्य आम्दानी हुने देखेपछि २०७४ वैशाखदेखि अटो रिक्सा चलाउन सुरु गरिन् ।
सानोतिनो तरकारी व्यापार गरेर घर खर्च चलाउनै हम्मे भएपछि सहकारीबाट दुई लाख ऋण लिएर ई–रिक्सा किनेर चलाउन थालेको चौधरीले बताइन् ।
उनले विगत २० महिनादेखि ई–रिक्सा चलाउँदै आइरहेकी छन् । सहकारीको ब्याज तिरेर तथा घर खर्च चलाएर मासिक १० हजारसम्म चोखो बचत हुने गरेको उनी बताउँछिन् । अब घर चलाउन र बालबच्चा पढाउन कुनै समस्या नरहेको उनको भनाइ छ ।
उनले महिनामा २० हजारसम्म कमाउने गरेको जनाउँदै आफूले रिक्सा चलाएको देखेर धेरै महिलाहरूले रिक्सा चलाउन थालेको जनाइन् । यस्तै नेपालगन्जकी शारदा बुढाथोकीले पनि ई–रिक्साबाट राम्रो आम्दानी भइरहेको देखेर रिक्सा चलाउन थालेको बताइन् । उनले पनि रिक्सा चलाएर मासिक १५ देखि २० हजार त सहजै कमाउन सकिएको जनाइन् ।
“कतिपय पढेलेखेका महिलाहरू काम नपाएर, काम गर्ने जाँगर नभएर बेरोजगार छन् । म त झन अनपढ मान्छे जागिर खान कता जानु त्योभन्दा आफ्नै काम गरेर खान के को लाज,” बुढाथोकी भन्छिन् ।
नेपालगन्ज–२७ अर्की कि ई–रिक्सा चालक ममता लोनियाले विगत सम्झदै भनिन्, “श्रीमान्को निधन पछि धेरै वर्ष अर्काको घरमा खाना पकाए, भाडा माझे, छोराछोरी हुर्काउन जे पनि गर्नुपर्दो रहेछ ।”
सहकारीबाट ऋण निकालेर ब्याट्री रिक्सा किनेको जनाउँदै उनले यो रिक्सा चलाउन सहज हुने र राम्रो आम्दानी हुने देखेर नै आफूले रिकसा चलाउन थालेको बताइन् । उनले अहिले मासिक २० हजारभन्दा बढी आम्दानी गरिरहेको जनाइन् ।
“यात्रा पनि सुरक्षित भएको र महिलाले रिक्सा चलाएको भनेर धेरै महिला यात्रुहरूले पनि प्राथमिकता दिने भएकाले कहिल्यै खाली हिँड्नु पर्दैन,” ममता भन्छिन्, “दिनभर घरमा खाली बस्नुभन्दा सीप सिकेर आय आर्जनमा लाग्ने हो भने महिलाको सशक्तीकरण सजिलै सम्भव छ ।”
ब्याट्री रिक्साले केवल महिलाहरूको रोजगारीको नयाँ ढोका मात्र खोलेका छैन, सामाजिक सोच र मान्यतालाई समेत बदल्न बाध्य बनाएको छ । रामकली र शारदा जस्तै धेरै महिलाहरूले पुरुषजस्तै विभिन्न काम गरेर आफूलाई स्थापित गरिरहेकी छन् ।
एक वर्षको अवधिमा बाँकेका विभिन्न बजारहरूमा २४ जना जति महिलाहरूले ई–रिक्सा किनेर चलाउँदै आएका छन् । कोहलपुरमा मात्रै १२ जना महिलाले ई–रिक्सा चलाउँछन् ।
परम्परागत सोच र मान्यतालाई बदल्दै आफ्नै परिश्रमबाट आफ्नो खुट्टामा उभिन सफल यी महिलाहरूले धेरै महिलाहरूलाई श्रम प्रतिसम्मान गर्न सिकाएका छन् ।
ब्याट्री रिक्सा वातावरण अनुकूल त छँदैछ छिटो छरितो र आरामदायी पनि भएका कारण यात्रुको आकर्षण सोतर्फ बढेको छ ।

प्रतिक्रिया दिनुहोस्