ढाका कपडा तथा वस्तु उत्पादनको प्रदर्शनी पुसमा

ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले व्यावसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी आगामी पुस पहिलो साता आयोजना हुने भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रर्दशनी र सम्मेलन सम्पन्न हुँदैछ ।
विगतमा महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समितिलाई व्यवस्थित ढंगले अगाडी बढाउन केही कठिनाई परेको विगतको अनुभवको आधारमा सो संघलाई पुर्नगठन समेत गर्नेगरी पुस २ गते देशभरका ढाका उद्योगी तथ व्यवसायीहरुको राजधानीमा भेला आयोजना गर्न लागिएको हो । यस्तै पुस २ र ३ गते दोस्रो ढाका वस्तु प्रदर्शनी पनि आयोजना गर्ने गरी तयारी भइरहेको संघले जनाएको छ ।
परापूर्वकालदेखि चलिआएको परम्परागत उद्योग व्यवसायहरु मध्ये नेपालको एक मौलिक उत्पादन ढाका कपडा थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारीत रहेको छ । ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिने भन्दै संघले देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामिण, अर्धशहरी तथा शहरी क्षेत्रहरुमा घरायसी एवं व्यवसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन र प्रयोग गर्ने कार्य हुँदै आएको छ ।
हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा वजारको माग तथा बद्लिदो परिवेश अनुसार उत्पादन विविधिकरण कार्यको थालनी भएको छ । ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सूती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयास लगायत ढाकासँग यावत विषय बारे गहन छलफल गर्न ढाका उद्यमीको राष्ट्रिय भेला बोलाउन लागिएको हो ।