Logo

मिस्त्रीखोलामा उत्पादित विद्युत् जोडियो राष्ट्रिय प्रशारण लाईनमा


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको मिस्त्र«ीखोला जलविद्युत् आयोजनाको उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना माउन्टेन इनर्जी नेपालले निर्माण गरेकोे हो ।
कालिगण्डकी करिडोर प्रसारण आयोजनाअन्तर्गत दानामा निर्माण भएको सबस्टेसन मार्फत आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारणमा जोडिएको आयोजनाका आवासीय इन्जिनियर दिवाकर खड्काले जानकारी दिए । आयोजनाको तीनवटै युनिटबाट उत्पादित विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको बताए ।
नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले परीक्षण उत्पादन सफल भएपछि सबस्टेसनमा जोडेका थिए । विद्युत्गृह रहेको नारच्याङको बेसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सबस्टेसन जोड्ने १३२ केभी क्षमताको ४ किलोमिटर प्रसारण लाइनको केही दिनअघि परीक्षण सफल भएको थियो । परीक्षण उत्पादनको १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क विद्युत् दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजनाले निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरिएको छ ।
पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको आयोजनाको प्रतिमेगावाट लागत १३ करोड ४३ लाख रहेको छ । यो स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत् आयोजना पनि हो । आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड ऋण लगानी गरेका छन् । यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलप्मेन्ट बैंकको ३० करोड ऋण लगानी रहेको छ ।
आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य ७ वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाड गरिएको छ । मिस्त्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । ५ मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्