हुड्केली नृत्य लोपोन्मुख

डडेल्धुरा – सुदूरपश्चिम क्षेत्रमा परम्पराकालदेखि प्रचलनमा रहेको हुड्केली नृत्य लोप हुँदै गएकोमा अजयमेरु गाउँपालिकाका लालबहादुर दमाईलाई चिन्ता लागेको छ । हुड्केली नर्तकका रूपमा परिचित लाललाई हुड्केली नाच्ने रहर अझै भए पनि एक दशक यतादेखि त्यसको माग नआएपछि उनले नाच्न पाएका छैनन् । आधुनिक ब्यान्डबाजा र अन्य मनोरञ्जनका डिजे साधनले यहाँको समाजमा गहिरो जरा गाडेपछि हुड्केली नृत्य ओझेलमा परेको हो ।
उमेरले ६५ काटिसकेका उनी भन्छन्, “हुड्केली नृत्यको माग नआएका कारण नृत्य देखाउने मौका पाइएको छैन ।” नृत्यका लागि सेतो गाउन, सेतो पगडी, चौंरीगाईको चमर, घण्टा, घुँघरु पहिरनका रुपमा लगाउने गरिन्छ । हुड्का ठूलो प्रकारको डमरुजस्तै बाजा हो । सो बाजासहित न्वारन, छैटी, अन्नप्राशन, विवाह र अन्य शुभकार्यमा वीरवीरङ्गनाको गीतिकथा पृथक ढङ्गले गाउँदै नाच्ने कार्य हुड्केलीमा गरिन्छ । एकजनाले नाच्दै हुड्केली नृत्यमा हुड्का बजाउँदै गीतिकथा भट्याउने, दुईजनाले परापूर्वकालको लडाइँको झल्को दिने गरी तरबार र ढालको करतब देखाउने, पाँचजनाले दमाहा बजाउने र गायनमा साथ दिने गर्छन् । हुड्केली नृत्य आफैंमा रोमाञ्चक मात्र नभएर डोटेली इतिहासका पात्रबारे जान्ने अवसर जुराउने नृत्य पनि हो ।
पहिले–पहिले हुड्केली गाउँका समृद्ध व्यक्तिले लगाउने गरेको उल्लेख गर्दै दमाई भन्छन्, “गाउँका सबैजना एकै ठाउँमा जम्मा भएर हुड्केली नृत्य हेर्ने र सुन्ने प्रचलन रहेको र यसबाट गाउँवासीमा एकता र सद्भाव दर्शिन्थ्यो ।” हुड्केली लगाएबापत दलित समुदायका व्यक्तिलाई जग्गा दिएर एक वर्षका लागि अन्न कमाएर खान दिने चलन थियो ।
हुड्केली नृत्य सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बाजुरा, बझाङ, अछाम, कैलाली र कञ्चनपुरमा मात्र नभई भारतको उत्तराञ्चल प्रदेशको कुमाउ गढवाल क्षेत्रमा समेत शुभकार्यमा प्राथमिकताका साथ नचाइने गरेको डोटेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताए । वीरवीरङ्गनाको गाथा गीतमार्फत् व्यक्त गर्ने, लडाइँको कलाकौशल दर्शाउने, वंशावली वर्णन गर्ने र नाचबाट भरपुर मनोरञ्जन लिने हुड्के नाचको प्रमुख विशेषता भएको उनको भनाइ छ ।
कुमाउँ गढवाल क्षेत्रबाट सुदूरपश्चिम क्षेत्रमा भित्रिएको अनुमान गरिएको हुड्केली नृत्य विसं १८०१ भन्दा अगाडिदेखि नै अस्तित्वमा रहेको स्थानीय बूढापाका बताउँछन् । कुमाउ अमरगढीका राजा त्रिपाल चन्दको जीवनीमा आधारित भई हुड्केली नृत्यको प्रारम्भ गरिने भएकाले यो नृत्य परापूर्वकालदेखि नै भारतको कुमाउ क्षेत्रबाट भित्रिएको प्रमाण भएको हुड्केली नृत्यका जानकार बहादुर नेपालीले बताए ।
परापूर्वकालका डोटेली राज्यका वीरवीरङ्गनाका रुपमा परिचित सोभी रावत, बिगा पनेरु, काला भण्डारी, हिया कठायत, रती रावल, सुजुबुजू रौतेला, पिरी बोहरा, संग्र्राम कार्की, दीपा ऐर, लाली साउनलगायतले गीतिकथा हुड्केलीमा लय हालेर तरबार बाजीसँगै हातमा थाली नचाएर गाउने गरेको डोटेली संस्कृतिका जानकार भण्डारीले बताए ।
नयाँ पुस्ताका युवा सहजै उपलब्ध हुने मनोरञ्जनका साधनप्रति बढी आकर्षित हुन थालेपछि हुड्केली नृत्य संकटमा परेको शिक्षक गणेश भण्डारीले बताए । उनका अनुसार हुड्केली नृत्य लोप हुनाका प्रमुख कारणमा धार्मिक रीतिरिवाज एवमं सांस्कृतिक धरोहरको जगेर्ना गर्ने व्यक्तिको कमी हुनु र पुरातात्विक सम्पदाहरूको संरक्षण र संवद्र्धन नहुनु हो । बूढापाकाले युवापुस्तालाई सो नृत्यका बारेमा जानकारी नदिँदा र सिकाउनेबारे चासो नदिँदा हुड्केली नृत्यको अस्तित्व लोप हुँदै गएको पनि उनले बताए ।
हुड्केली नृत्य लोप भएपछि डोटेली समाजको नैतिक बल गुमेको तथा मौलिक संस्कृतिप्रति चासो जगाउने र परम्परालाई चिनाउने अवसर गुमेको स्थानीय बुद्धिजीवी कर्ण चन्द बताउँछन् ।
हुड्केली नृत्य लोप हुनाको प्रमुख कारण आधुनिक समाजमा ब्याण्डबाजा बजाउनेलाई पारिश्रमिकस्वरुप १० हजारभन्दा बढी दिइन्छ भने हुड्केली लगाउने व्यक्तिलाई ५०० देखि एक हजारमात्र दिएर बिदा गरिन्छ । यस्तो अवस्थामा हुड्केली नृत्यमै दलित समुदायका व्यक्ति कसरी बाँच्न सक्छन् ? रैका राजाको शासनकालमा जातजातिका आधारमा कामको वर्गीकरण गर्ने चलनअनुसार हुड्केली नृत्य दलित समुदायले देखाउने चलन चलाएको डोटेली संस्कृतिका जानकार शेरबहादुर सावदले बताए ।
हुड्केली नृत्यमात्र नभएर परम्परागत पहिरन र बाजागाजाको संरक्षणतर्फसमेत यहाँको समाज चनाखो हुन नसक्दा कैयौं परम्परागत बाजागाजा लोप भइसकेको प्रति उनले चिन्ता प्रकट गरे । लोप हँुदै गएको हुड्केली नृत्य बचाउका लागि यहाँका बुद्धिजीवी एवं संस्कृतिविद्ले युवापुस्तालाई जनचेतना फैलाउनु जरुरी भइसकेको छ भने यसको संरक्षणका लागि स्थानीय निकायबाट पनि सहयोग गरिनुपर्छ ।