सडक निर्माणमा तीव्रता दिन स्थलगत निरीक्षण

हुम्ला-कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक खण्डअन्तर्गत हुम्लाको च्याछहराको स्थलगत निरीक्षण गरिएको छ । च्याछहराको कठिन भूगोलको भाग खुलेपछि हिल्सा सिमिकोट सडक सहज रूपमा ट्रयाक खुल्ने आशा गरिएको छ । यस सडक खण्डको सबैभन्दा कठिन मानिएको भूगोल र कडा चट्टानको भागको ट्रयाक खुलेपछि सहज रूपमा सडक निर्माण हुने भएको छ ।
विस्फोटक पदार्थको अभावमा दुई वर्षसम्म रोकिएर काम सुरु भएको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरअन्तर्गत सिमकोट–हिल्सा सडक खण्डको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानासहितको टोलीले कार्य प्रगतिको निरीक्षण गरेको हो ।
चट्टान फुटाउने कार्य तीव्ररूपमा भइरहेको समयमा सडकको ट्रयाक खोल्नका लागि उच्च पदाधिकारीको टोली निरिक्षणमा गएको यो पहिलो पटक भएको छ । च्याछरा भीरमा धेरै ठूलो चट्टान भएका कारण समस्या भएको उक्त सडक आयोजना प्रमुख सशांक मिश्रले बताए । चट्टान फुटाउने कार्य एक महिना अगाडिदेखि सुरु गरिएको र काम तीव्र गतिमा अगाडि बढिरहेको मिश्रको भनाइ छ । सडक खण्डको १ सय मिटरमा करिब ७० देखि ८० मिटर चौडा बनाउने कार्य अगाडि बढिरहेको प्रमुख मिश्रले बताऐ । सडकखण्डको पूरा भाग कडा चट्टान भएका कारण काम गर्न असजिलो भए पनि निर्माणकार्यले गति लिएको बताइएको छ । दैनिक १२ जनाको हाराहारीमा कामदारले चट्टान फुटाउनको लागि विष्फोटक पदार्थ विस्फोट गराउनको लागि होल खोप्ने कार्य भइरहेको छ । कम्तीमा १५० भन्दा बढी होल खोपिसकेपछि नेपाली सेनालाई विस्फोटका लागि सिमकोटबाट अनुरोध गरिने भएको छ । विस्फोट गराउनका लागि ५ सय राउण्ड विस्फोट गरिसकेको भएता पनि अझै १ हजार ५ सयभन्दा बढी ठाउँमा विस्फोट गराउनु पर्ने देखिएको छ ।
चट्टानबाहेक सो सडक खण्डमा चार किलोमिटर सडकको मात्र ट्रयाक खोल्न बाँकी रहेकोमा बोलपत्रसमेत स्वीकृत भइसकेको छ । वि.सं २०५५ मा तत्कालीन जिल्ला विकास समितिको आन्तरिक स्रोतमा निर्माणकार्य सुरु गरिएको सडकको लम्बाइ ९५ किलोमिटर छ । यसमा करिब ९० किलोमिटर हाल गाडी गुड्ने अवस्थाको सडक निर्माण भइसकेको आयोजनाले जनाएको छ । निरीक्षण टोलीले त्यस खण्डको कार्य प्रगतिका बारेमा निर्माण व्यवसायी र कामदारसँग बुझेको थाहा हुन आएको छ । यही गतिमा कुनै अवरोध विना काम अगाडि बढे चाँडै नै सडक निर्माणको गति बढ्ने अवस्था देखिएको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रानीवन गुल्मका सेनानी निश्चल पाठक, प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठ, अनुसन्धान प्रमुख लोकमणि आचार्य, हिल्सा–सिमकोट आयोजना प्रमुख मिश्रलगायतको टोली त्यसतर्फ अनुगमनको लागि गएको थियो । हुम्ला जिल्लालाई सडक सञ्जालमा जोड्न सकिएमात्र यहाँको विकास निर्माणको अन्य कार्यले तीव्रता लिने देखिएको छ ।
विकास निर्माणका सामानलगायत औजार उपकरण भित्र्याउनका लागि पनि सडकको महत्व बढी रहेको यहाँका स्थानीयको भनाइ छ । यहाँका स्थानीय उत्पादन भएका सामग्री निर्यात र नजिक रहेको चीनबाट सामान आयात गर्नका लागि यो सडक खण्ड महत्वका साथ निर्माण भइरहेको छ । करिब २ दशक निर्माणकार्य भइरहेको ९५ किलोमिटर सडक खण्ड अझै पनि सदरमुकाम सिमकोटसम्म छोइसकेको छैन । खर्बाैंको बजेट हरेक वर्ष नेपाल सरकारले यस सडक खण्डमा विनियोजन हुने गरेको भएता पनि अझै सडकले निर्माणकार्य अगाडि बढी नसकेको अवस्था छ ।
जिल्लाका अन्य गाउँपालिकामा रहेको भूगोल जोड्नको लागि अझै २०औं वर्ष लाग्ने अवस्था छ । विनियोजन भएको बजेटको सही सदुपयोग नहुँदा हुम्लीवासीले अझै सडक मार्गको प्रयोग सपनामात्रै पालेर बसिरहेको अवस्था छ । हुम्ला जिल्लालाई नेपाल सरकारले राष्ट्रिय सडकमा जोड्नको लागि नेपाली सेनालाई टेण्डर गरिसकेको भएता पनि सडक मार्गले सामान्य गति लिइरहेको छ । गाउँपालिकास्तरमा पनि सडक खोल्नका लागि करोडौंको बजेट गत वर्ष विनियोजन भएता पनि हालसम्म सन्तोषजनक रूपमा गति अगाडि बढेको छैन ।