गजेन्द्र नारायण सिंहले २० लाख बढी बक्यौता तिर्न बाँकी

सप्तरी-सप्तरीको रुपनी गाउँपालिका–५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन नगरी लाखौं बक्यौता बाँकी राखेको भन्दै बुधबार दुई उद्योगको सम्झौता खारेज गरिएको छ । विगत २० वर्षदेखि स्थान ओगटेर उद्योग सञ्चालन नगरी बन्द अवस्थामा रहेका एसएण्डको इलेक्ट्रोड्स प्रालि र महालक्ष्मी खाद्य उद्योगमा निजी ताला फुटाइ सरकारी ताला लगाएको छ ।
एसएण्डको प्रालिको ११ लाख २२ हजार २ सय ९२ रुपैयाँ २३ पैसा र महालक्ष्मी खाद्य उद्योगको ९ लाख ४३ हजार ४ सय १५ रुपैयाँ ७९ पैसा बाँकी बक्यौता रहेको कार्यालयका प्रमुख दीपक आचार्यले जानकारी दिएका छन् ।
ती उद्योगहरुमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले स्थानिय जनप्रतिनिधि, प्रहरी, प्रशासन, उद्योग वाणिज्य संघ, राजविराज नगरपालिका र स्थानियको रोहबरमा तलाबन्दी गरेको छ ।
कार्यालयका प्रमुख आचार्यले दुई वटा उद्योग विगत धेरै दिनदेखि बन्द रहेको अवस्था, सम्झौता तथा नवीकरणसमेत समाप्त भइसकेको र बाकी बक्यौता पनि बाँकी रहेकोले बाध्य भई बन्द गर्नु परेको जानकारी दिएका छन् । उनले अब ती दुई सेडमा नयाँ उद्योगहरुका लागि सूचना प्रकाशन गरी रोजगारीमूलक उद्योग स्थापना गर्नेलाई प्राथमिकता दिने बताए ।
यसैगरि रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जनप्रतिनिधिहरुको रोहबरमा वर्षौंदेखि बन्द रहेका, म्याद समाप्त भइसकेको अवस्थामा र बक्यौता बाँकीसमेत रहेका उद्योगहरुलाई कारबाही गरिएको बताए ।
वि.स. २०४४ सालमा भारत सरकारको सहयोगमा साढे २२ बिगहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्रभित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड निर्माण गरिएको छ ।
तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदासमेत हाल कोसी पोलिमर्श इन्डस्ट्रिज, मिलन डेरी उद्योग, महालक्ष्मी पेट इन्डस्ट्रिज र पदमज्योति प्लास्टिक उद्योग गरी चार उद्योग मात्र सञ्चालनमा छन् । जसमध्ये कोसी पोलिमर्श इन्डस्ट्रिजले भवन नपाउँदासमेत आफ्नै लगानी सेड निर्माण गरी उद्योग सञ्चालन गर्दै आएको छ ।
यस्तै अल नेपलिज टी एण्ड कफी सेन्टर प्रालि, कृष्णा खाद्य उद्योग र माग भगवती कृषि टमाटो फुड्स इन्डस्ट्रिज बन्द अवस्थामा छन् भने कान्तिपुर प्लास्टिक उद्योग र उषा जल उद्योग निर्माणाधीन अवस्था रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।