Logo

आफ्नो सेवा सुविधाबाटै मेयर कोष स्थापना

डडेल्धुरा-स्थानीय तहमा जनप्रतिनिधिले आवश्यकता भन्दा बढी सेवा सुविधा लिने, विकास निर्माणका काममा ठेकेदार र उपभोक्ता समितिसँग साझेदारी गर्ने, निजी लगानीमा डोजर खरिद गरी स्थानीय तहका विकास निर्माणबाट ठूलो आर्थिक लाभ लिने होडबाजी चलिरहँदा पर्शुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदले भने आफूले पाउने सेवा सुविधा नलिई मेयर कोष निर्माण गरेर उदाहरणीय काम गरेका छन् ।
आफूले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्तासमेत सिधै कोषमा जाने गरी नगरप्रमुख साउदले मेयर कोष स्थापना गरेका हुन् । मेयर कोषमा जम्मा हुने रकम निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, एचआईभी एड्सजस्ता असाध्य रोगले ग्रसित बिरामी, मठमन्दिर निर्माण र अन्य सामाजिक काममा खर्च गर्ने गरी उनले उक्त कोष निर्माण गरेका हुन् ।
विपन्न वर्गका कुनै परिवारलाई आर्थिक समस्या भयो भने उनीहरू सिधै नगरप्रमुख भीमबहादुर साउदलाई भेट्छन् । नगरप्रमुख साउदले समस्याको गाम्भीर्य हेरेर आवश्यक रकम चेकमार्फत सम्बन्धित व्यक्तिलाई दिन्छन् । विद्यालयमा निजी स्रोतका शिक्षकलाई विद्यालयले तलब दिन सकेन भने त्यसको जोहो पनि नगरप्रमुख साउदले गर्छन् । एचआईभी पीडितको ठूलो संख्या रहेको पर्शुराम नगरपालिकामा दुई दर्जन बढी परिवारलाई समय समयमा परेको आर्थिक गर्जो पनि नगरप्रमुख साउदले टार्ने गरेका छन् ।
“श्रीमान् एचआईभी संक्रमणका कारण बिते, उनले नासोका रूपमा मलाई पनि एचआईभी संक्रमण छोडेर गए, बालबालिका हुर्काउन निकै कठिन छ । मेयरसाबका कारण उनीहरूले खान लाउन र विद्यालय पढ्न पाएका छन्,” एचआईभी संक्रमित साविक जोगबुढा–५ कि कमला कामीले भनिन्, “मेयर हुनुअघि पनि सहयोग पाउँथे । मेयर भएपछि मजस्ता धेरैले उहाँबाट सहयोग पाएका छन् ।”
कमला कामीमात्र होइन मेयर कोषबाट महिनामा सहयोग पाउने पर्शुराम नगरपालिकाका धेरै विपन्न परिवारको लामो सूची छ । साविक जोगबुढा–१२ का धर्म कोली भन्छन्, “आफूले पाउने सेवा सुविधाबाट हरेक महिना मेरै गाउँमा एक दर्जन बढीले मेयर कोषबाट सहयोग पाएर आफ्नो उपचार गरेका छन् ।” कोही उपचारका लागि सहयोग माग्न आउँंछन् भने कोही विद्यालय जाने बालबालिकाको खर्चका लागि नगरपालिका धाउने गरेका छन् ।
नगरप्रमुख साउदले नगरको कोषबाट सहयोग गर्दैनन् उनले आफ्नो सेवा सुविधावापत आउने रकम जम्मा हुने मेयर कोषबाट गरिब र विपन्न परिवारको गर्जो टार्ने गरेका छन् । “नगर प्रमुखले पाउने सवै सेवा सुविधावापतको रकम सिधै मेयर कोषमा जाने गरेको छ,” नगरपालिकाका कार्यकारी अधिकृत ईश्वरलाल शाक्यले भने, “अहिलेसम्म प्रमुखले नगरपालिकाबाट कुनै खाले सुविधासमेत लिएका छैनन् ।” आफ्नो निजी गाडी प्रयोग गर्छन्, तेल पनि निजी खर्चबाट चलाउँछन्, नगरपालिकाका वडामा भ्रमण गर्दा कानुनी रूपमा पाउने भ्रमण भत्ता, नगर कार्यपालिका, नगरसभाजस्ता बैठक भत्तादेखि नगरप्रमुखले पाउने हरेक सुविधावापतको रकम सिधै मेयर कोषमा जम्मा हुने गरेको पनि कार्यकारी अधिकृत शाक्यले बताए । उनले भने, “जनताको सेवाका लागि निर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने उदाहरणीय काम नगर प्रमुखले गर्नु भएको छ ।”
सरकारले स्थानीय तहका जनप्रतिनिधिको तलब तोकेको पनि उनलाई मन परेको छैन । नगर प्रमुखले भने, “तलब लिन थालेपछि केको राजनीति ? केको सेवा ? त्यो त कर्मचारी सरह भइहाल्यो ।” सरकारले तलब तोकेर जनप्रतिनिधिको ओज र मर्यादा घटाएको उनको भनाइ छ । जनप्रतिनिधि र कर्मचारीबीच के फरक भयो ? यसको उत्तर न खोजेर सरकारले जनप्रतिनिधिको तलब तोकेको छ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्