चौपाया व्यवस्थापनको माग

बर्दिया-छाडा गाई गोरु नियन्त्रणको माग गर्दै बर्दियाको सदरमुकाम गुलरियामा शनिबार स्थानीयले गाई गोरुसहित धर्ना दिएका छन् ।
छाडा चौपायाले स्थानीय किसानले लगाएको अन्नबाली खाइदिनुका साथै बाटोघाटो हिँडडुलमा समेत दुर्घटना बढेको भन्दै गुलरिया–७ का स्थानीयले गुलरिया नगरपालिका र जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । दिनभरि सडकमै सयौं बेवारिसे छाडा पशुसहित स्थानीयवासी धर्नामा बसेपछि यातायात सेवा अवरुद्ध भएको थियो ।
लामो समयदेखि छाडा चौपायाको समस्या झेल्दै आएका स्थानीय बासिन्दाले आफूहरूले लगाएको धान मकैलगायत बाली नाली छाडा गाईगोरुले खाएर नोक्सान हुँदा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने गुलरिया–७ का श्रवणकुमार यादवले बताए ।
छाडा चौपायालाई अस्थायी रूपमा व्यवस्थापन गर्न नगरपालिकाले बिहीबार गाउँमा खबर पठाएको बताउँदै गाईगोरु ल्याएर आउँदा गेट बन्द गरेर नगरपालिकाका प्रतिनिधि कोही पनि सम्पर्कमा नआएपछि धर्ना दिएर बस्नुपरेको गुलरिया–७ का दिपेन्द्र यादवको भनाइ छ ।
यतिबेला नगर क्षेत्रभित्र छाडा चौपाया बेवारिसे अवस्थामा छाडिँदा स्थानीयको अन्नबाली खाएर नोक्सान गर्नुका साथै सडक दुर्घटनासमेत बढेको छ । छाडा चौपाया नियन्त्रण गर्नुपर्ने दायित्व स्थानीय सरकारको भएकाले यसको व्यवस्थापनका लागि अनुरोधका साथै उचित ब्यवस्थापन नगरे सशक्त आन्दोलन गर्ने चेतावनी छाडा चौपाया पीडितले दिएका छन् ।
करिब ६ घण्टासम्म नगरपालिका र प्रशासन अगाडि धर्ना दिएपछि पशु व्यवस्थापनका लागि भन्दै गुलरिया नगरपालिकाले ति छाडा चौपायालाई गुलरिया नगरपालिका–२ मा रहेको गौसालामा लगिएको थियो । तर गौशालामा क्षमताभन्दा चार गुणा बढी पशु भएकाले व्यवस्थापनमा समस्या रहेको गुलरिया नगरपालिका–२ का वडाध्यक्ष टंक अधिकारीले बताए । उनले भने, “नगरपालिकाले वैकल्पिक उपाय खोज्नुपर्छ ।”