सुन्तले सहर विविधतामा एकता

धनकुटा-दक्षिण एसियामै रसिलो, गुलियो र गुणस्तरको पहिचान बनाएको सुन्तला प्रवद्र्धनका लागि धनकुटा सदरमुकामको माथिल्लो कोप्चेका सबै घरमा सुन्तला रंग पोतेर ओरेन्ज सिटी अभियान चलाइएको छ ।
फरक जातजाति र रहनसहन भएका सबै घरमा चिटिक्क पोतिएको एकै किसिमको रंगले अनेकतामा एकताको सन्देश दिएको छ । पकेट क्षेत्र घोषित खोकुमा उत्पादन हुने गुणस्तरीय सुन्तलाले देश विदेशमा धनकुटालाई चिनाएकाले सदरमुकामको माथिल्लो कोप्चे टोलमा चाहि खोकुको सुन्तला प्रवद्र्धनका लागि ओरेन्ज सिटी अभियान चलाइएको हो । सुन्तला सहर अभियान चलाइएको धनकुटा–५ का वडाध्यक्ष धनकुमार आठपहरिया भन्छन्, “घरघरमा पोतिएको रंग सुन्तलाको पहिचान र प्रवद्र्धनसँग मात्रै सीमित छैन ।” होचा अग्ला, साना ठूला सबै घरमा पोतिएको एकै किसिमको रंगले सहअस्तित्व, भाइचारा र विविधताभित्र एकता पनि झल्किएको उनको दाबी छ । टोलबाट सुरु भएको अभियान वडासम्म विस्तार गर्ने आठपहरियाले बताए । टोलका ९० वटै घरमा मात्र होइन, यहाँका चोक–चौतारी, मठ मन्दिर, पार्टी कार्यालय, विद्यालय र खेलमैदानका भित्तामा समेत सुन्तला रंगले सजिसजाउ बनाइएको छ । आगन्तुकहरू सुन्तला रंगले सजिएको टोलमा रमाउने गरेका छन् ।
गोकुण्डेश्वर बालमन्दिर माविका प्रधानाध्यापक दामोदर मिश्र स्कुलमा समेत सुन्तला रंग लगाएर वडासरकाले गरेको सुन्दरताको प्रयासमा सहयोग गरेको बताउँछन् । टोलबस्तीमा सबैको सहकार्य र समभावले एकै रंगको अभियान सफल भएको अभियन्ता गोविन्द राईको भनाइ छ । उनले भने, “यो टोलमा पस्दा, सानो ठूलो, धनी, गरिब, जात र धर्मको भेद देखिँदैन, यो नै हाम्रो विशिष्टता हो ।” उनले थपे, “यसले सहिदमूमि गाउँपालिकाको खोकुमा उत्पादित सुन्तलाको प्रवद्र्धन र विविधतामा एकता पनि ।”