कमलामाई नगरपालिका प्लास्टिकका फोहोर किन्दै

सिन्धुली-सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर खरिद गर्ने भएको छ । नगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै नगरबासीले प्रयोग गरेर फालिएका प्लास्टिकजन्य फोहोर खरिद गर्ने जनाएको हो ।
एउटा खानेपानीको खाली बोत्तलको ५० पैसाको दरले खरिद गर्ने र चाउचाउ, चक्लेटका खोल लागाएत अन्य प्लास्टिकजन्य फाहोरहरु किलोको ५० रुपैयाँमा किन्ने सुचनामा उल्लेख गरिएको छ । तर सोझै स्थानीयसँग नभई टोल विकास समिती मार्फत नगरपालिकाले प्रती के.जि. १० रुपैयाँका दरले फोहोर खरिद गर्ने निति लिएको जनाइएको छ । तर खरिद गरिएका फोहोरको व्यवस्थापन तथा सदुपयोग कसरी गरिनेछ भन्ने खुलाइएको छैन ।
यता नगरपालिकालाई प्लास्टिक मुक्त नगर बनाउनका लागि नयाँ कार्यक्रम थालनी गरिएको नगर प्रमुख खड्गबहादुर खत्रीले बताए । अब नगरबासीले प्लास्टिकजन्य फोहोर बेचेर आम्दानी गर्न सक्नेछन् । उनले भने, “यसबाट स्थानीय र नगरपालिका दुबैलाई फाइदा पुग्नेछ ।” प्लास्टिकजन्य फोहोर जथाभावी नफालिकन संकलन गरेर आय आर्जनमा वृद्धि गर्न सकिने उनको भनाई रहेको छ । फोहोरको दिर्घकालिन सदुपयोग तथा व्यवस्थापनका लागि भने अब छिटै सर्वपक्षिय छलफलबाट निर्णय गरिने नगरप्रमुख खत्रीले जनाए ।
नगरपालिकाले यसअघि प्लास्टिक झोला प्रयोग गर्न निशेध कार्यक्रम पनि घोषणा गरेको थियो । प्लाष्टिकले बाताबरणमा प्रतिकुल असर पार्ने भन्दै प्लास्टिक झोला निशेष गर्ने भनिएपनि हालसम्म सो कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन हुन सकेको छैन ।
नगर भित्र कुनै पनि प्रकारको प्लाष्टिकका झोलाको प्रयोग गरेको पाईएमा जरिवाना गरिने भनिए पनि न त कसैलाई कारर्वाही नै भएको छ । न त व्यवसायीहरुले प्रयोग गर्न नै छाडेका छन् ।
गत वर्ष नगरपालिकाले सर्वदलिय तथा सर्वपक्षिय भेलाको आयोजना गरि असोज १ गतेदेखि प्लाष्टिक झोला प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । सो भेलालाले प्लाष्टिक झोला प्रयोग नियन्त्रणका लागि नियमित अनुगमन गरिने र प्रयोग गरेको पाईएमा जरिवाना असुल गर्ने जनाएको थियो । व्यवसायीले विक्री गरेको पाईएमा पनि जफत र जरिवाना हुने बताएको थियो । तर हालसम्म एक पटक मात्रै बजारको अनुगमन गर्न भ्याएका छन् ।
यता प्लाष्टिक मुक्त गर्ने योजना बनाएर खोलिएका फाईबर झोला उद्योग पनि सो निर्णय कार्यान्वयनमा आउन नसक्दा धरासई अवस्थामा पुगेको छ । उद्योग सञ्चालकहरु अब उद्योग बन्द गर्नु पर्ने अवस्थामा पुगेको गुनासो गर्छन । फाट्टफुट्ट मात्रामा झोला विक्री हुने गरेको उद्योगीहरुले बताएका छन् ।
फाईबर झोला उद्योगमा अहिले तयारी अवस्थाका झोलाहरु त्यसै थुप्रेर बसेका छन् । उद्योगमा काम गर्ने कामदारहरुलाई समेत समयमै तलव खुवाउन मुस्किल परेको उद्योगिहरुको भनाई रहेको छ ।
–कृञ्जला पुलामी