इतिहास देखाएरै ६८ लाख कमाइ

शाहकालीन इतिहास देखाएरै गोरखा संग्रहालयले आधा करोडभन्दा बढी आम्दानी गरेको छ ।
२०६५ साल जेठदेखि सर्वसाधारणका लागि संग्रहालय खुल्ला गरेसँगै घुम्न आउने पर्यटकसँग लिएको टिकट शुल्कबाट हालसम्म ६८ लाख ९८ हजार ५ सय ६ रुपैयाँ संकलन भएको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले जानकारी दिए । संग्रहालय खुल्ला गरेको वर्षदेखि आर्थिक वर्ष २०६८/६९ सम्म वार्षिक ५ लाखभन्दा कम राजस्व संकलन भए पनि त्यसपछि बर्सेनि राजस्व बढ्दै आएको उनले बताए ।
आव ६९/७० देखि आव ०७२/७३ सम्म बर्सेनि ५ लाखदेखि ६ लाख रुपैयाँसम्म आम्दानी भएको संग्रहालयको तथ्यांक छ । तथ्यांकअनुसार अघिल्लो दुई आवमा संग्रहालय घुम्ने पर्यटकको संख्या बढेसँगै राजस्व पनि बढेको छ । आव ०७३/७४ मा ७२ हजार ६४८ जनाले संग्रहालय घुमेका छन् । उनीहरूबाट १४ लाख ५७ हजार १८५ रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै, अघिल्लो आवमा अहिलेसम्मकै धेरै पर्यटक आइपुगेको संग्रहालयले जनाएको छ । अघिल्लो आवमा ७७ हजार ७५३ पर्यटकबाट १६ लाख ३९ हजार ८११ रुपैयाँ राजस्व संकलन भएको प्रमुख अधिकारीले बताए ।
१० वर्षको अवधिमा ५ लाख ६३ हजार ६ सय ३ जना स्वदेशी तथा विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन् । जसमध्ये विद्यार्थीको संख्या धेरै छ । ३ लाख ५ हजार ४७३ विद्यार्थीले संग्रहालय अवलोकन गरेका हुन् । ७२ सालदेखि हालसम्म शैक्षिक भ्रमणमा आएका ७५ सय विद्यार्थीले अवलोकन गरेका छन् । विद्यार्थीबाहेक २ लाख ४१ हजार ३५९ नेपाली नागरिक संग्रहालय पुगेका छन् । सार्क राष्ट्रका ४८७ र अन्य राष्ट्रका ८ हजार ७८४ पर्यटकले घुमेको तथ्यांक छ ।
तत्कालीन राजा राजेन्द्रविक्रम शाहले छोरा सुरेन्द्रविक्रम शाहका लागि बनाइदिएको दरबारमै २०६५ सालदेखि संग्रहालय स्थापना गरिएको हो । परम्परागत नेपाली वास्तु शैलीबाट बनेको अन्तिम दरबार भएकाले सोसम्बन्धी अध्ययन गर्न चाहनेका लागि पनि गोरखा संग्रहालय गन्तब्य विन्दु बन्ने गरेको कार्यालय प्रमुख अधिकारीले बताए । उनले भने, “तत्कालीन गोरखा राज्य स्थापनाको पृष्ठभूमि र ऐतिहासिक पक्षबारे जानकारी लिन पनि पर्यटक, अनुसन्धानकर्ता गोरखा संग्रहालय आउँछन् ।”
संग्रहालयमा ऐतिहासिक पक्ष झल्कने १२ वटा कक्ष छन् । संग्रहालयमा गोरखाका शाह राज्यको परिचयात्मक कक्ष, गोरखा राज्यसँग महत्वपूर्ण रणनैतिक तथा सामाजिक घटनासँग सम्बन्धित चित्र कक्ष, पृथ्वीनारायण शाहको २३.४ मिटर लामो चिनाको छायाप्रति, गोरखाली सेनाले प्रयोग गरेका हातहतियार, राजा रामशाहदेखि नरभुपाल शाहको पालासम्म लेखिएका हस्तलिखित ग्रन्थ, पृथ्वीनारायण शाहको पालाका लालमोहर, जिल्लाका धार्मिक तथा सास्ंकृतिक सम्पदा तथा पुराना हुलाक टिकट, परम्परागत तथा कलात्मक शैलीका भाँडाकुँडा, बाजा, १७९२ सालमा बनेको तोपलगायतका सामग्री राखिएका छन् ।
संग्रहालय परिसरमै रहेको पृथ्वीनारायण शाहको सालिक तथा पार्कमा पनि पर्यटकको आकर्षण बढेको छ । ६८ रोपनी क्षेत्रफलमा रहेको गोरखा संग्रहालयमा दरबारले ३.५ रोपनी जग्गा ओगटेको छ । सार्वजनिक बिदाबाहेक हरेक मंगलबार संग्रहालय बन्द हुने गरेको छ । हाल पुरातत्व विभागअन्तर्गत रहेको संग्रहालय देशमा नयाँ संरचना लागू भएसँगै प्रदेश वा स्थानीय कुन तहको मातहतमा रहने भन्ने टुंगो लागिसकेको छैन । यो विषय टुंगो लागेसँगै साताको सातैदिन संग्रहालय खुल्ला गर्ने ब्यवस्था मिलाउने तयारी भइरहेको संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
संग्रहालय प्रवेशका लागि विद्यार्थीसँग १०, सर्वसाधारणसँग २५, सार्क राष्ट्रका पर्यटकसँग ५० र अन्य राष्ट्रका पर्यटकसँग सय रुपैयाँ प्रवेश शुल्क लिने गरिन्छ ।