४० प्रतिशत काम अझै अधुरो

काठमाडौं चक्रपथ सुधार योजनाअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्ड थप गरिएको अवधिमा पनि नसकिने देखिएको छ ।
काठमाडौं चक्रपथ सुधार योजनाको थप गरिएको अवधि सकिन सात महिना बाँकी रहँदा सडक खण्डको जम्मा ६० प्रतिशत मात्र काम सकिएको छ । योजनाको थप गरिएको १८ महिनाको म्याद सात महिनापछि अर्थात आगामी असारको मध्यमा सकिँदै छ । सरकारले ०७० सालको भदौ १६ गते ०७३ सालको पुस मसान्तसम्म निर्माण सक्ने गरी चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनलाई ११ किलोमिटर लामो कोटेश्वर–कलंकी सडक विस्तारको जिम्मा दिएको थियो । कोटेश्वरदेखि बल्खुसम्मको खण्डमा अधिकांश काम सम्पन्न भए पनि बल्खुदेखि कलंकीसम्मको खण्डमा सडक बनाउने काम बल्ल सुरु भएको छ । सडक विस्तारको कामका कारण बल्खुदेखि कलंकीसम्मको सडक खण्ड धुलोले हिँडिनसक्नु छ ।
काम निकै सुस्त गतिमा भएका कारण सर्वसाधारणले लामो समयदेखि धुलोको सामना गर्नुपरेको हो । सर्वसाधारणले धुलोका साथै ट्राफिक जामको पनि सामना गर्नुपरिरहेको छ । बल्खु क्षेत्रमा निर्माण कार्य थालिएका कारण एकान्तकुनादेखि नै जाम हुने गरेको छ । काठमाडौं चक्रपथ सुधार योजनाले धुलो र जामको समस्या अब धेरै समय कायम नरहने दाबी गरेको छ । योजनाका प्रवक्ता निरञ्जन शर्मा अर्यालले आगामी असारसम्म सडकलाई ८ लेनको बनाउने काम सकिने दाबी गरे ।
बल्खुदेखि कलंकीसम्मको खण्डमा सडक विस्तार कार्य बल्ल सुरु भए पनि कलंकीमा अण्डर पास वे अर्थात् भूमिगत बनाउने काम भने अन्तिम चरणमा पुगेको छ । ८ सय मिटर लामो भूमिगत सडकको ७५ प्रतिशत काम पूरा भएको छ । निर्माण सम्पन्न भएपछि कलंकी हुँदै कालिमाटी र थानकोटतर्फ जाने बाहेकका सवारीसाधन भूमिगत सडक भएर मात्र ओहोरदोहोर गर्न पाउने छन् । ११ किलोमिटर लामो सडक खण्डअन्र्तगत बालकुमारी, खसीबजार, बागमती खोला र बल्खु खोलामा ८ वटा मोटर गुड्ने पुल तथा कोटेश्वर, ग्वार्को र बागडोलमा तीन वटा आकासे पुल निर्माण गरिएका छन् । सबै पुल अपांगमैत्री छन् ।
कोटेश्वर–बल्खु खण्डमा आठ लेनमा विस्तार गरिएको सडकमा सवारीसाधन गुड्न थालिसकेका छन् । विस्तारित सडकमा सवारीसाधन गुड्न थाले पनि ढल तथा सडक पेटी ब्यवस्थापनको काम भने बाँकी छ । चीन सरकारले ५ अर्ब रुपैयाँ लगानी गरेको सडक विस्तारमा नेपाल सरकारको १ अर्ब रुपैयाँ खर्च भएको छ ।