खानेपानी समस्या समाधान गर्न ६८ करोडको वित्तीय सम्झौता

भोजपुर-भोजपुरमा अब खानेपानी समस्या समाधान हुने भएको छ । सदरमुकामको खानेपानी समस्या समाधान गर्न भोजपुर नगर खानेपानी तथा सरसफाइ आयोजनासँग नगरपालिका र सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिबीच ६८ करोड ५२ लाख ६० हजार १९४ रुपैयाँ लागतको वित्तीय सम्झौता भएपछि खानेपानी समस्या समाधान हुने भएको हो । सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजनाअन्तर्गत खानेपानी विस्तारका लागि उक्त सम्झौता गरिएको छ ।
०७२ सालको महाभूकम्पले खानेपानीका मुहान घट्दै गएपछि भोजपुर सदरमुकाममै केही वर्षयता खानेपानी समस्या बढ्दै गएको छ । समस्या निदानका लागि नेसनल ड्रिंकङ वाटर क्वालिटी स्ट्यान्डर्ड (एनडीडब्लूक्यूएस) को मापदण्डअनुसार उक्त वित्तीय सम्झौताबाट सञ्चालन हुने नयाँ प्रस्तावित तीनभंगाले खानेपानी आयोजना कार्यान्वयन गरे २४सै घण्टा शुद्ध खानेपानी उपभोक्ताको घरघरमा पुग्ने उपभोक्ता समितिकी उपाध्यक्ष लिलामाया तामाङले बताइन् । उनले भनिन्, “बर्सेनि खानेपानीको समस्या भोगिरहेका नगरवासीलाई नयाँ खानेपानी आयोजना सम्पन्न हुनसके सास्तीबाट मुक्ति पाउँथे । २४ सै घण्टा खानेपानीे उपभोग गर्न सक्नेछन् ।”
वित्तीय सम्झौताअघि टेम्के मैयुङ गाउँपालिका–१ तिम्मामा पर्ने तीनभंगालेबाट खानेपानी ल्याउन तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत एसियाली विकास बैंको ऋण सहयोगमा नेपाल सरकारको ७० प्रतिशत, नगर विकास कोषको २५ र उपभोक्ता समितिबाट पाँच प्रतिशत गरी कुल ७० करोड ९१ लाख ९९ हजार १९४ रुपैयाँ लागतमा आयोजना सञ्चालन गर्न लागिएको थियो ।
बढी जनघनत्व रहेको सदरमुकामका करिब १ हजार ३८५ घरधुरी उपभोक्ता धानिरहेको उपभोक्ता समितिले अहिले एक दिनमा २ लाख लिटर पानी वितरण गरिरहेको छ । दैनिक करिब ४ लाख ५० हजार लिटरको हाराहारीमा खानेपानी आवश्यकता परे पनि हाल समितिले दुई प्याकेजमा एक दिनको समयान्तरमा खानेपानी वितरण गरिरहेको छ ।
हाल सञ्चालित आयोजनाको एकमात्र सिलिचुङ खानेपानी प्रणालीमा करिब ३२ किलोमिटर ट्रान्समिसन लम्बाइ र करिब ४५ किलोमिटर वितरण लम्बाइको भोजपुर नगरपालिका–५ बोखिमको भुल्के, डढुवा, तीनधारे र जोरसाँगु गरी चारवटा मुहानबाट सदरमुकाममा खानेपानी ल्याइएको छ । तर खानेपानी मुहानका सतह क्रमिक रुपमा घट्न थालेपछि बर्सेनि समस्या झेल्नुपरेको समितिका अध्यक्ष प्रवीण सुवालले बताए । उनले भने, “मुहानबाटै खानेपानी कम आउने थालेपछि सोही अनुपातमा वितरण गर्न बाध्य भएका छौं ।” उनका अनुसार खानेपानीको क्षमता प्रतिसेकेन्ड १४ लिटर भए पनि ८ लिटरमा घटिसकेको छ ।
जोखिम न्यूनीकरण गर्न कार्यक्रम सञ्चालन
भोजपुरको अरुण गाउँपालिका–४, ५ र ६ मा ३ करोड ५० लाखको जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन हुने भएको छ । हङकङ रेडक्रसको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाल रेडक्रस सोसाइटीका सभापति तुलबहादुर सुब्बाले बताए ।
विपद् जोखिम न्यूनीकरण कार्यक्रम नेपालका ३५ भन्दा बढी जिल्लामा सञ्चालन भइरहेको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत सन्तोष न्यौपानेले जानकारी दिए । कार्यक्रम सञ्चालन भएका ठाउँमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न युवालाई तालिम, भैपरी आउने विपद् व्यवस्थापन तालिम, बाढी, पहिरोमा परेकालाई उद्धारलगायत विषयमा तालिम प्रदान गरिने न्यौपानेले बताए ।
भोजपुरमा ६२ वटा विद्यालयमा जुनियर रेडक्रस सोसाइटीको शाखा रहेको र शाखामा नौ हजार ६१९ जना सदस्य रहेको नेपाल रेडक्रस सोसाइटी भोजपुर शाखाका कार्यक्रम अधिकृत तेज श्रेष्ठले जानकारी दिए । उत्त कार्यक्रम सञ्चालन गर्न लागिएको ठाउँको जनससंख्या भने ६ हजार पाँच सय ६ जना रहेको कार्यालयले जानकारी दिएको छ ।