शुभकामना सुर्ती उद्योगमा शिल

नक्कली गुट्खा उत्पादन गर्ने शुभकामना सुर्ती उद्योगमा शिलबन्दी गरिएको छ । काठमाडौंको गोलढुंगामा अवैधरूपमा सञ्चालित सुर्ती उद्योगले चलेको ब्रान्डमा नक्कली गुट्खा बनाएर बिक्री गर्ने गरेको फेला परेपछि शिलबन्दी गरिएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र प्रहरीसहितको अनुगमन टोलीले बिहीबार छापा पारेर उद्योगमा शिलबन्दी गरेको हो । विभागका अनुगमन संयोजक दीपकराज पोखरेलले नक्कली ब्रान्ड बनाएर गुट्खा उत्पादन गरेर बेच्ने गरेपछि उद्योगमा शिलबन्दी गरिएको जानकारी दिए । उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने गरी नक्ली गुट्खा र सुर्ती उत्पादन गरी बेच्ने गरेको अनुगमनका क्रममा फेला परेको उनको भनाइ छ ।
विभिन्न ब्रान्डका नक्कली सुर्ती, गुट्खा फेला परेपछि दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ । उद्योगका सञ्चालक टेकनाथ भट्टराईलाई प्रहरीले खोजिरहेको छ । बाहिर ‘शुभकामना सुर्ती उद्योग’को बोर्ड रहे पनि भित्र भने बजारमा चलेका प्रायः सबै ब्रान्डका गुट्खा उत्पादन हुने गरेको अनुगमनका क्रममा फेला परेको छ ।
नेपाली र भारतीय नागरिक मिलेर अवैध गुट्खा फ्याक्ट्री सञ्चालन भइरहेको सूचनाका आधारमा सरकारी अनुगमन टोली र प्रहरीले संयुक्तरूपमा छापा मारेको थियो । फ्याक्ट्रीबाट करिब ३० लाख रुपैयाँ मूल्य बराबरका बिभिन्न ब्राण्डका गुट्खा, कच्चा पदार्थ, गुट्खा बनाउने मेसिनलगायतका सामान जफत गरिएको छ ।